तिमीले देख्यौ ?

सृष्टीको किम्मति देवोद्यान,

त्यै क्या त पावन वक्षस्थल,

दिगन्तमा झुल्के घामसंगै

सिरवन्दी बनेको भेडेटार

पाउमा सल्बलाई रहेको सप्तकोशी 

वरीपरी चारकोशेको आँचल

दुनियाँको प्यारो स्वर्गतुल्य ठाँउ

प्रिय मित्र, 

तिमी एक पटक आउ,

 धरान घुमेर जाउ ।


वहुलताको विगुल घन्काउदै,

संस्कृति र सभ्यताको चंगुल भित्र

सोरठी, मारुनी, चण्डी, साकेला,

कतै च्याब्रुङ,धान नाच थरी थरिको मेला

प्रत्यक रोम रोममा सुन्दरता छरिरहेको

पुष्प गुच्छा जस्तै सुशोभित ठाँउ

बाटो काट्यौ भने पनि फर्किएर एक पटक आउ 

धरान घुमेर जाउ ।


हेरत कयौँ देवस्थलहरु

विष्णुपादुका, बुढासुब्बा, दन्तकाली, पञ्चकन्या र शिवजट्टाहरु

इतिहास त पढेउ होला

सुनेउ होला विजयपुर दरबारको शक्ती

पृथ्वीनारायणलाई सत्र पटक जिल खुवाउने

भताभुङगे राजाको तरक्की

पाइला टेक्दै मंगल हुने हृदयको घाउ

पक्कै गर्ने छौ स्वर्गानुभुती

एक पटक आउ 

धरान घुमेर जाउ ।


मन बहलाउने ठाँउहरु

विषम प्राकृतिक अनुराग

जिफ्लाइन, प्याराग्लाइडिङ साहशिक पर्यटकीय स्थलहरु

तिनपानेको परिकारसंगै,

कालो बङगुरको परिकार

सुन्दर नगरी पुर्वको रानी

लाहुरेहरुको शहर,

पुर्वको मुटु दुनियाको कर्मभुमी

यसको व्याख्या म कसरी बताउँ,

स्वदेश या विदेश जहाँ छौ

एक पटक आउ 

धरान घुमेर जाउ ।


उत्कृष्ट कृषि बजार दुनियाको पेट भरिदिने,

पुर्वको गौरव वि.पि.क्याम्प,

अशक्तको इलाज गरिदिने ।

इन्जियरिङ, महेन्द्र, हात्तिसार क्याम्पसले

जन जनमा सज्ञानको ज्योती छरिदिने ।

नागवेली झैँ सर्दु सेउती जीवजन्तु र लतिका,

मुलहरु फुटेका छन् विकास र सम्मृद्धिका

विविधताको जिवन्तता ऐश्वर्य देवो पाउ

यो सौन्दर्यता पान गर्न एक पटक आउ 

धरान घुमेर जाउ ।


स्वागतको घडा लिएर, तम्तयार छ घण्टाघर

भानुचोकको आगनीमा

बगरकोटमा सेकुवाको स्वाद लिएर,

नाम्जेको होम स्टेमा राखौला

सांकृतिक झाँकीलाई नियाल्दै

मौलिक परिकार चाखौला

सानो छदा फेसनको सहर, धरान हेर्ने रहर छ भन्थेउ,

अब त ठुलो भयौ होला,

मेरो प्रिय मित्र, एक पटक आउ 

धरान घुमेर जाउ ।


कवि धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत हुन् ।