धरान: धरानमा तीनपाने रक्सि (कोदोको) र धराने कालो बंगुरको प्रवर्दन गर्नका लागि दुई वटा अवधारणा पत्र तयार गरिने भएको छ ।

सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलसहितको टोलीले केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका विज्ञहरुसँग छलफल गरेको थियो । उक्त छलफलमा नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका २०७८ माथि गरेको अध्ययनले निर्देशिका बमोजिम अवधारणा पत्र तयार गर्ने सहमती भएको हो । 

अवधारणा पत्र तयारी गर्ने जिम्मेवारी केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारलाई दिईएको छ । उक्त अवधारणा पत्र यही माघ २८ गतेभित्र पेश गरिसक्नुपर्ने समय तोकिएको छ । उपमहानगरपालिकाका बरिष्ठ ईञ्जिनियर सुरज श्रेष्ठका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको १ करोड ५० लाख र उपमहानगरपालिकाको ७० लाखको लागतमा प्रोजेक्ट अगाडी बढ्नेछ । केन्द्रिय प्रविधि क्याम्पसलाई साझेदार संस्थाका रुपमा लिई धरान उपमहानगरपालिकाले कार्य सम्पन्न गर्ने निर्णय गरेको छ । 

छलफलमा मेयर राईले तीनपाने रक्सि (कोदोको) र धराने कालो बंगुरको प्रवर्दन सँगसँगै धरानको वडा नं. ४ र वडा नं. २० मा होम स्टेको विकास गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताए । पछिल्लो समय मानिसहरुले कोदो खेती गर्न छाडिसकेको बताउँदै मेयर राईले भने,‘तीनपाने रक्सी र धराने कालो बंगुरको प्रवर्दनले कृषकहरुमा कोदो खेती गर्न पनि उत्साहित गर्नेछ ।’ 

मेयर राईका अनुसार परम्परागत रुपमा उत्पादन गरिरहेका स्थानीयबासीलाई तीनपाने रक्सीको बारेमा थप ज्ञान, सीप दिएर व्यवसायीकरण गर्न सकियो भने आत्मनिर्भर बनाउन सकिनेछ । साथै, बंगुर पालकहरुसँग सहकार्य गरेर धराने कालो बंगुरको प्रवर्दन गर्नसकिने मेयर राईको भनाई थियो । 

केन्द्रिय प्रविधि क्याम्पसका विज्ञहरुले तीनपाने रक्सि (कोदोको)  अनुसन्धान हुन बाँकि रहेको बताउँदै यसलाई प्रवर्दन गर्र्न मापदण्ड र कानून निर्माणको विषयमा उपमहानगरपालिकाले भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए । यस्तै, उनिहरुले धराने कालो बंगुरको मासुलाई ग्रेडिङ गरेर देश तथा विदेशमा निर्यात गर्न सकिने बताएका थिए । 

गत वर्ष केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका प्राध्यापक बसन्त कुमार राईको संयोजक्त्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा सदस्यहरु केन्द्रिय प्रविधि क्याम्पसका पूर्व प्रमुख प्रा.डा. धनबहादुर कार्की, फुलमाया तामाङ, सदर राई, मोहन तिगेला र सुचना अधिकृत खगेन्द्र खतिवडा सदस्य सचिव रहेका छन् ।