धरान: एक समय धरान पुर्वी पहाडी जिल्लाको लागि व्यापारिक केन्द्र थियो । तीसको दशकमा जब कोशी राजमार्ग अन्तर्गतको धरान धनकुटा सडक निर्माण भयो, तब धरानको व्यापार सरेर हिलेमा पुग्यो । धरानको व्यापार सुस्तायो, र व्यापारिक केन्द्रको पहिचान हराएर आवासिय सहरमा मात्र परिणत हुन पुग्यो ।

धरानको त्यही पुरानो साख फर्काउने अर्थात व्यापारिक केन्द्र बनाउने योजना क्रमशः पुरा हुदै गएको सुनसरी क्षेत्र नं १ बाट निवार्चित संघीय सांसद जयकुमार राईको दाबी छ । आफुले निर्वाचनको बेला धरानलाई व्यापरिक केन्द्र बनाउने प्रतिवद्धता गरेको भन्दै उनले त्यसैको लागि छिमेकी नगर, र छिमेकी जिल्लाहरुसँग सडक सञ्जालमार्फत जोड्ने कार्यले तीब्रता पाएको बताए ।

धरान १० पुतलीलाइनस्थित कफी पब एण्ड रेष्टोको उद्घाटन समारोहलाई सम्बोधन गर्दे सांसद राईले धरानलाई मृत सहर भएको भन्ने भनाईप्रति पनि असहमति प्रकट गरे । उनले २०७४ सालको स्थानीय चुनाव अघि धरानलाई छिमेकी गाउँ, नगर र जिल्लासँग जोड्ने ४ वटा मात्र पुल भएको उल्लेख गर्दै भने,‘अहिले धरानलाई जोड्ने संघीय सरकारबाट ८ वटा पुलहरु बनिरहेको छ । प्रदेश सरकारबाट २ वटा बनिरहेको छ, बहुबर्षित योजना अन्तर्गत सडकहरु पनि बन्दैछ ।’

sansad-jay

सांसद राईले धरान यहीका मानिसहरुको मात्र किनमेल गर्ने थलोकोरुपमा रहेकोमा अब छिमेकी गाउँ, नगर र जिल्लाबाट पनि किनमेल गर्न आउन थालेको बताए । ‘धरान यहीका मात्र किनमेल गर्ने थलो भएको थियो, सबैतिर चिनेजानेकै मान्छे भेटिन्छ । सर्दु र सेउती, चारकोशी माथि, भेडेटार मुनिकाको मानिसले मात्र किनमेल गर्ने थलो भयो धरान,’ सांसद राईले भने,‘आजभोली दिनदिनै बसाहा, बेलटार, गाइघाटको मान्छेहरु देख्नुहुन्छ । लेटाङ, केराबारी अनि बक्लौरी, चक्रघटीको मान्छे पनि किनमेल गरेको देख्नहुन्छ । यसरी चारैतिरबाट मानिसहरु आउन थालेका छन् ।’ 

सडक सञ्जाल र पुलहरु निर्माण भएपछि धरानबाहिरका मानिसहरु पनि आउन थालेको र धरानको व्यापार, व्यवसाय एवं पर्यटन विकासमा टेवा पुगेको उनले बताए । अझ अघिल्लो सरकारले अघि सारेको धरान–लेउती सुरुङग मार्ग निर्माण भएको धरान गुल्जार हुने बताए । 

सांसद राईले धरानमा नाइटलाइफ आवश्यक भइसकेको पनि बताए । उनले बगरकोट, बुद्धचोकसँगै भानुचोकदेखि सैनिक चोकसम्म नाइट लाइफ अर्थात रात्री व्यवासाय सञ्चालन आवश्यकता देखिएको बताए । ‘पोखरामा २ बजेसम्म, ठमेलमा २४ सै घण्टा हुन्छ, धरानमा नै १० बजे नै प्रहरीले बन्द गराउदै हिड्छ, यसरी त कसरी विकास हुन्छ ? हामी जनप्रतिनिधिको ध्यानाकर्षण भएको छ,’ सांसद राईले भने ।

भिडियो: