धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको दोस्रोे चरणको खेल सुरु भएको छ ।
धरान १६ स्थित रंगशालामा बुधबार भएको दोस्रो चरणको पहिलो खेलमा वडा नं ११ ले वडा १८ लाई पराजित गर्यो । जित हासिलसँगै वडा नं ११ ले ३ अंक जोड्न सफल भयो । धरान–११ ले वडा १८ लाई २–० ले पराजित गरेको छ । वडा ११ को लागि दुवै गोल टिम क्याप्टेन हेमन्त थापा मगरले गरेका थिए । उनले खेलको ४२ औं र ७० औं मिनेटमा गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच समेत घोषित हुदै नगद २५ सय हात पारे । अंक तालिकाको तेस्रो स्थानमा रहेको वडा नं ११ ले सेमिफाइनल यात्राको आशा कायमै राखेको छ ।
दुवै टोलीमा ए डिभिजन क्लबबाट खेलिसकेका अनुभवी खेलाडीहरु सहभागी थिए । वडा ११ बाट ए डिभिजन खेलेका अनुभवी खेलाडीहरु हेमन्त थापा मगर, सुवाइ राई र गजुरमान राई थिए भने वडा नं १८ बाट ए डिभिजन खेलेका खेलाडीहरु निश्चल गिरी, मनिष थापा मगर र शुसिल राईले खेलेका थिए ।
भोली (बिहिबार) वडा नं. १६ र १९ बीच धरान रंगशालामा ठिक ४ बजे खेल सुरु हुने आयोजकले जनाएको छ । गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी गराएर सुपर ८ लिग फुटबल प्रतियोगिता जारी छ । प्रतियोगितामा ८ टिमलाई दुई समुहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतियोगिता भइरहेको हो । समुह विजेता र उपविजेता प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजेता टिमहरुले फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । फागुन २८ गते सुरु भएको प्रतियोगिता चैत्र १२ गतेसम्म चल्नेछन । प्रतियोगताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।