धरान: झापाको विर्तामोडमा आयोजित प्रदेश १ स्तरीय ओपन थ्री वाइ थ्री बास्केटवल प्रतियोगिताको उपाधि महिलातर्फ धरान मेघा हिमालयन कलेज र पुरुषतर्फ हाम्रो कलेक्सनले चुमेको छ । 

विर्तामोड ५ नम्बर वडा खेलकुद समितिले बुधवार आयोजित एक दिने प्रतियोगिताको महिला पुरुष दुवै उपाधि माथि धरानको टिमले कव्जा जमाएको हो । महिला तर्फको खेलमा धरान मेघा हिमालयनले विर्तामोड महिला टिमलाई ९–६ र हाम्रो कलेक्सनलले तरहरालाई २१–१९ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । महिलातर्फको विजेता टिमले नगद ५ हजार, उपविजेताले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । 

यसैगरि पुरुष तर्फका विजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उनीहरुलाई ५ नं वडा खेलकुद समिति अध्यक्ष विशाल धिमाल, झापा बास्केटवल संघका अध्यक्ष प्रकाश लिङदेन, वास्केटवलका राष्ट्रिय टिम क्याप्टेन सदिस प्रधान, नेपाल बास्केटवल लिगका संयोजक नमित थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।  

प्रतियोगिताको उत्कृष्ट खेलाडी महिलातर्फ धरान मेघा हिमालयन कलेजकी डा. आशा राई र पुरुषतर्फ हाम्रो कलेक्सनका हेमन्त राई घोषित भए । उनीहरुले ट्रफि र प्रमाणपत्र हात पारे । नेपाल बास्केटवल लिग एनविएलको समेत सहयोग रहेको प्रतियोगितामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १२ टिमले सहभागिता जनाएको थियो ।