धरान: हिजो पहाड र हिमाली जिल्लामा मनाइएको होली पर्व आज तराईका जिल्लाहरुमा धुमधामले मनाइदैछ । 

धरानमा पनि आज होली धुमधामले मनाइदैछ । दुई बर्ष कोरोना महामारीको कारणले धरानमा पनि होली खुलेर मनाइएको थिएन । यसपाली संक्रमण कम हुदै गएको कारण पनि धरानमा होली पुरानै शैलीमा मनाइदैछ । धरानको भानुचोक, मंगलबारेलगायत महत्वपुर्ण चोक तथा क्षेत्रहरुमा धुमधामले होली मनाइदैछ । 

होली धुमधामले मनाउने तयारीसँगै अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था पनि कडा बनाएको छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायमाझीका अनुसार मर्यादित तथा संयमित भएर होली मनाउन सबैलाई छुट दिइनेछ । तर, मापसे गरेर सवारी चलाउने, उच्छृंखल गतिविधि गर्ने, जर्बजस्ती रंग दल्ने, मोटरसाइकलमा ३ जना र विना हेल्मेट चढने सबैलाई करबाहीको दायरामा लिइने उनले बताए । 

धरानमा बिहान ६ बजेदेखि नै प्रहरी परिचालन भइसकेको छ । तर, १० बजेपछि संघीय प्रहरी कार्यालय धरान गुल्मबाट थप प्रहरी आउने र धरानभरि परिचालन गरिने रायमाझीले जानकारी दिए । उनले भने,‘१० बजेपछि थप टोली गुल्मबाट आउछ, र परिचालन हुन्छ । ट्राफिक प्रहरी पनि ठाउँ ठाउँमा चेकिङमा हुन्छ । जर्बजस्ती गर्ने, गैरकानुनी कार्य गर्नेलाई नियन्त्रणमा लिन्छौ ।’ उनका अनुसार सडकमा आज प्रहरी एक सय भन्दा बढी परिचालन हुनेछ ।