इटहरी: इटहरीमा आधुनिक फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । केन्द्र सञ्चालनमा आएसँगै इटहरीको फोहोर मैला व्यवस्थापनमा सहज हुने भएको छ । 

इटहरी वडा नम्वर १० मा निर्माण गरिएको केन्द्रको बिहिबार एमाले नेता एवं प्रदेश नं १ का पुर्वमुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरेका छन् । केन्द्र सञ्चालनमा आएपछि फोहोर मैलाको उचित व्यवस्थापन मात्र भएको छैन, फोहोरबाट आम्दानी पनि हुने भएको छ । फोहोर प्रशोधन केन्द्रवाट ग्याँस उत्पादन थालिए पछि आम्दानी हुन थालेको हो । यसअघि धरानमा पनि यस्तै केन्द्र सञ्चालनमा आइसकेको छ। 

इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रर्वधन केन्द्र र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र संचालनमा आएको हो । केन्द्र संचालनका लागि वैकल्पिक उर्जा प्रर्वधन केन्द्र मार्फत विश्व वैकंको ६० प्रतिशत अनुदान र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको छ । इटहरी उपमहानगरपालिकाले जग्गा, त्यहाँसम्म पुग्ने कालोपत्रे वाटो र पर्खाल निर्माण गरिदिएको छ । 

itri-fohor1

उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर जम्मा हुन्छ । केन्द्रमा प्रत्येक दिन ८ सय केजीसम्म ग्याँस उत्पादन गर्ने क्षमता छ । सड्ने फोहोरवाट मात्र ग्याँस उत्पादन हुन्छ । नसड्ने फोहोरलाई रिसाइक्लिङ्ग गरेर बिक्री गरिने चौधरीले जानकारी दिए । केन्द्रको उदघाटन गर्दै पूर्व मुख्यमन्त्री आर्चायले केन्द्र निर्माण भएर सञ्चालनमा आएकोमा खुशी ब्यक्त गरे । उनले सम्मृद्धिका लागि वातावरणीय स्वच्छता अनिवार्य रहेको धारणा राख्दै फोहोरमैलाको उचित ब्यवस्थापन हुन थालेकोमा प्रशंशा पनि गरे । 

प्रदेश सांसद लिलम वस्नेतले इटहरीमा चुनौतीको रुपमा रहेको फोहोरमैला ब्यवस्थापनको कार्य ब्यवस्थित हुनु नगरवासीकालागि खुशीको कुरा भएको बताए । नगर प्रमुख द्वारिकलाल चौधरीले प्रशोधन केन्द्रका कारण वडा नम्वर १० को विकासमा टेवा पुगेको बताए । उनले गुणस्तरीय कालोपत्रे सडक लगायत सम्झौता वमोजिमका अन्य कार्य गरिएको पनि दाबी गरे । उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षे कार्यकालकै एक गौरव गर्न लायक कार्य सम्पन्न भएको बताइन् । 

कार्यक्रममा वडाध्यक्ष प्रकाश चौधरी,वडासदस्य राम नारायण चौधरी, वेस्ट इन्भाइरो एण्ड म्यानेजमेन्टका प्रवन्ध निर्देशक मोहन भण्डारी, मानध्वज मोक्तान लगायत बोलेका थिए । केन्द्र संचालनमा नेपाल वंगलादेश वैकको वित्तीय सहयोग रहेको बताइएको छ ।