धरान: धरानको फोहोरलाई प्रशोधन गरेर ग्याँस र मल उत्पादन गर्ने प्रशोधन केन्द्रको उद्घाटन भएको छ । 

धरान ६ पानवारीमा रहेको केन्द्रको मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । यो केन्द्र भेञ्चर वेष्ट टु इनर्जी प्रालिले सञ्चालनमा ल्याएको हो । केन्द्र २२ कट्ठा क्षेत्रफलमा रहेको छ । केन्द्रबाट उत्पादन भएको ग्याँसबाट टेम्पो पनि सञ्चालनमा आएको छ । प्रधानमन्त्री देउवाले ग्याँसबाट चल्ने टेम्पोको अवलोकनसमेत गरे भने फोहोर प्रशोधन गरेर उत्पादन भएको बायो मलको पनि निरीक्षण गरेका थिए । 

dharan-fohor4

वेष्ट टु इनर्जीका संस्थापक विपुलराज पाण्डेका अनुसार केन्द्रमा हाल २४ करोड हाराहारी लगानी भएको छ । त्यसमध्ये वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र विश्व बैंकले ७ करोड अनुदान दिएको हो । धरानमा संकलन भएको फोहोरबाट अर्गानिक, रिसाइकल हुने र ल्याण्डफिल्डमा फाल्नुपर्ने गरि छुट्याउने र अर्गानिक फोहोर प्रशोधन गरेर ग्याँस र मल उत्पादन गरिरहेको पाण्डेले बताए । रिसाइकल हुने फोहोर कवाडीलाई बिक्री गरिने उनले बताए । हाल दिनको १२ देखि १५ सय केजी ग्याँस उत्पादन भइरहेको पनि उनले बताए । 

फोहोरको व्यवस्थापन गर्न धरान उपमहानगरपालिका र प्रालिबीच २० बर्षे सम्झौता भएको थियो । सम्झौता अनुसार प्रालिले २० बर्षपछि प्रशोधन केन्द्रको जग्गासहितको सम्पुर्ण सम्पत्ति उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । व्यवसायिकरुपमा ग्याँस उत्पादन शुरु गरे पछि प्रालिले आम्दानीको १ प्रतिशत उपमहानगरपालिकालाई बुझाउनुपर्ने सम्झौता पनि छ । 

dharan-fohor6

केन्द्रबाट उत्पादन भएको ग्याँस अहिले धरानका टेम्पोहरुलाई उपयोगी भएको र टेम्पोहरुले लगाउन शुरु गरेको प्रालिले जनाएको छ । पेट्रोलबाट १८ किलोमिटर चल्ने टेम्पोले यहाँको ग्याँसले ३२ किलोमिटर चल्ने र पेट्रोलभन्दा १० देखि १५ रुपैया सस्तो पनि पाण्डेले बताए।

वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको कार्यकारी निर्देशक डा.मधुसुधन अधिकारीले प्रशोधन केन्द्र नगरपालिकाकै पहिलो भएको र नयाँ प्रविधिको पहिलो भएको जानकारी दिए । यहाँबाट ग्याँस, लिक्विड मल र पानी पनि प्रशोधन गर्ने उनले बताए । टेम्पो चल्ने यो ग्याँसले खाना पकाउन पनि सकिने तर धेरै खपत हुने रेष्टुरेष्ट र उद्योगमा प्रयोग गरिने उनले बताए । पेट्रोल, डिजेल आयात गर्ने मुलुकलाई ग्याँस उत्पादन वरदान हुने र नेपाललाई पनि लाभ पुग्ने उनले बताए ।

भिडियो:

 

dharan-fohor2

dharan-fohir6

dharan-fohor8