धरान: हुलाकी अर्थात हल्कारा, जो नेपाल सरकारको हुलाक सेवा विभागमा सरकारी तलब सुविधा लिएर चिट्ठीपत्र गाउँघरमा पुर्याउन जान्छन् । प्रविधिको विकासले हिजोआज हुलाकी अर्थात हल्काराहरु पनि फुर्सदिला छन् ।

न सरकारी तलब, सुविधा न पत्र पुर्याउने कुनै निजी कम्पनीको जागिरे । तर पनि धरान १४ विजयपुरका प्रफुल्ल भण्डारीको काम पनि हल्काराकै हो । उनी विजयपुरबासीको हरेक घरमा विभिन्न कार्यको निम्तो तथा निमन्त्रणा पत्र बाँड्न पुग्छन् । कसैको घरमा कुनै कार्य भए सबैले उनैलाई सम्झन्छन् । प्रफुल्ल पनि आफुले पाएको जिम्मेवारी इमान्दारितापुर्वक निर्वाह गर्दै घरघरमा पुगेर पत्र बाँड्छन् । उनै ४२ बर्षीय प्रफुल्ल भण्डारीको जीवनमा आधारित छोटो वृत्तचित्र (डकुमेन्ट्री) हल्करा युट्युबमार्फत सार्वजनिक भएको छ ।

हार्दिक मिडिया प्रालिको प्रस्तुती रहेको हल्कारा १० मिनेट ३५ सेकेण्डको वृत्तचित्र हो । यसमा गाउँभरि निम्तो बाँड्दै हिड्ने धरान विजयपुरका युवा प्रफुल्ल भण्डारीको कथा छ । वृत्तचित्रको निर्देशन विजयपुर घर भएका दयाराम घिमिरेले गरेका हुन् । उनी हाल काठमाण्डौंमा बस्छन् । उनी नेपाली चलचित्र, वृत्तचित्र निर्माण तथा निर्देशन गर्छन् । हल्करा पछि उनले बनाएको वृत्तचित्र जोगीले विभिन्न पुरस्कार जितेको छ ।

आफुले गर्दै आएको कामलाई वृत्तचित्रमा उतारिदा प्रफुल्ल असाध्यै खुशी छन् । उनका अनुसार निर्देशक घिमिरे घर आएको बेला आफुले निम्तो पत्रहरु बाँडेको नजिकबाट नियालीरहेका थिए । उनले वृत्तचित्र बनाउने प्रस्ताव गरेपछि आफु पनि सहमत भएको भण्डारी बताउँछन् । ‘दयाराम भाईले मलाई वाच गरिरहेका रहेछन्। उहाँले डकुमेन्ट्री बनाउने प्रस्ताव राख्नुभयो, मलाई पनि राम्रो लाग्यो,’उनले भने,‘डकुमेन्ट्री बनेर युट्युबमा पनि सार्वजनिक भएको छ, म ज्यादै खुशी छुँ ।’ उनको संयुक्त परिवार छ । परिवारमा बुबा आमा, श्रीमति र २ छोरी छिन् भने भाई, बुहारी पनि सँगै छन् । 

'हल्करा भएकोमा गर्व लाग्छ' 

halakara4

भण्डारीका अनुसार उनले २०, २२ बर्षअघिदेखि नै गाउँमा पत्र बाँड्ने काम गरेका हुन् । आफ्नो घरको पत्र बाँड्दै जादा यो कामको शुरुवात भएको उनको भनाई छ । आफ्नो पत्र बाँड्न थालेका प्रफुल्लले विस्तारै छरछिमेकीको पत्र पुर्याई दिने पनि काम गरे । यसले उनको चिनजान छरछिमेक वरपर, टोल हुदँै विजयपुर भरिको घर परिवारसँग हुन पुग्यो । ‘एउटा घरले अर्को घरलाई चिनाउदै टोलभरि चिन्न थाले । जसले काम अह्राउनुहुन्थ्यो, कि उहाँले चिन्ने कि मैले चिन्ने हुनथाल्यो,’उनले स्मरण गर्दै भने,‘विस्तारै विजयपुरका सबैलाई चिन्न थाले, उहाँहरुले पनि मलाई चिन्न थाल्नुभयो ।’

उनी काम पक्का गर्थे । कसैको घर पनि छुटाउदैनथे । त्यसैले अफिसको पत्र, बिहे, वर्तमन, बिहेबटुलोको निमन्त्रणा पत्र, मरिमराउको पत्र बाँड्नु पर्दा सबैले प्रफुल्ललाई पठाउने गर्थे । उनी पनि आधिकारिक व्यक्ति को हुन्, उनैलाई हातमा पत्र थमाउथे, भेट नभए फोन गरेर कसलाई दिने भनेर सोधेपछि मात्र पत्र छोड्थे । पत्र बाँडिदिए वापत उनले कति पारिश्रमिक लिने भनेर तोकेका थिएनन् । ‘उहाँहरुले नै विचार गरेर दिनुहुन्थ्यो,’उनी भन्छन् ।

शुरुमा हल्करा भनेर होच्याउने गरेपनि पछि सबैले राम्रो काम भन्दै प्रशंसा गरेको भण्डारीको अनुभव छ । ‘यो कामले सबैसँग चिनजान हुने । हालखबर थाह पाइने तर हिडेरै बाँड्नुपर्ने भएकोले शरीरलाई केही कष्ट हुन्थ्यो,’उनले वृत्तचित्रमा भनेका छन्,‘शुरुमा हल्करा भनेर होच्याउथे पनि । तर, पछि सबैले राम्रो भन्न थाले । मैले के बुझे भने मान्छेलाई व्यक्ति भन्दा पनि काम प्यारो हुदो रहेछ । काम राम्रो भयो भने सबैले खोज्दा रहेछन् । अहिले एउटा घरकोले अर्को घरलाई चिन्ने अवस्था छैन । मैले सबैलाई चिन्छु, मलाई पनि सबैले चिन्छन् । यो कामले खुशी छुँ, गर्व लाग्छ ।’

मेहनत गरेपछि र सही बाटो हिडेपछि सम्मान पाइन्छ भन्ने उनलाई लागेको छ । आफुले दाम (पैसा) नकमाए पनि समाजले चिन्ने गरि नाम कमाएकोमा उनलाई सन्तोष छ । 

स्कुलको जागिरले छुट्यो हल्कराको काम

प्रफुल्ल पछिल्लो समय पब्लिक मावि फुस्रे धरान १३ मा काम गर्न थालेपछि भने चिट्ठी पत्र बाँड्ने काम छुटेको छ । उनी २०७५ सालदेखि उक्त स्कुलमा कार्यालय सहयोगीकोरुपमा कार्यरत छन् । 

halakara2

स्कुलको काममा ब्यस्त हुन थालेपछि भने पत्र बाँड्न समय निकाल्न नसकेको उनको भनाई छ । ‘अहिले स्कुलमा ब्यस्त हुन्छु, समय दिन सकिन । स्कुलमा साढे ९ बजेदेखि बेलुका ६ बजेसम्मै हुन्छु । त्यसैले भ्याउदिन,’भण्डारीले भने,‘पत्र बाँड्ने मान्छे पनि भेटिदैन । अहिले फेसबुक मेजेन्सरबाट नै पत्र हालिदिने चलन आयो, प्रविधिको यो सुविधाले पनि बाँडिरहनु नपर्ने भयो ।’ स्कुलमा काम गर्न थालेपछि पत्र बाँड्न छुटेको र त्यसपछि बसाई सरि आएका नयाँ घर वा बस्तीसँग भने आफ्नो चिनजान हुन नसकेको उनले बताए । 

गीत, कविता लेख्छन्, नृत्य र कमेडी पनि गर्छन्

प्रफुल्ल साहित्य प्रतिभा पनि हुन् । खाली समय पाउनसाथ उनी कविता, गीत, भजन लेख्छन् । केही घटना हुँदा कथा पनि लेख्छन् । कतै घुम्न जादा त्यहाँको परिस्थिति र परिवेश बुझेर तत्काल कविता लेख्न सक्छन् । उनी राम्रो नृत्य पनि गर्छन् भने कमेडी पनि गर्नसक्छन् । ‘मैले आइ।ए।पास गरे । एकेडेमिकरुपमा साहित्य अध्ययन गर्न पाइन तर मनबाट सृर्जना भएको गीत, कविता, कथा लेख्छुँ,’उनी भन्छन्। 

भिडियो: