धरान :  २०७४ सालको स्थानीय तह निर्वाचनको बेला धरानका राजनीतिक दलहरुको प्रमुख चुनावी एजेण्डा थियो, नगरबासीलाई खानेपानीको सहज आपूर्ति गरिदिने । त्यतिबेला धरानको खानेपानी समस्या हल गर्ने लक्ष्य लिएर एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा २२ मिलियन डलर बराबरको एकीकृत सहरी विकास आयोजना (आइयुडिपी) शुरु भइसकेको थियो । खानेपानीलाई चुनावी एजेण्डा बनाउदै राजनीतिक दलहरुले भनेका थिए, ‘आयोजना सफल बनाउछौ, र चाहेजति पानी वितरण गछौं ।’

खानेपानी अभाव धरानको मुख्य समस्या हो । त्यसैले सहरी विकास मन्त्रालयले एडिबिबाट ऋण तथा अनुदान सहयोग आउदा कुन योजना लिने भनेर प्रस्ताव माग गर्दा धरानका राजनीतिक दलहरुले एकमुख भएर खानेपानी आयोजना मागेका थिए । २२ मिलियन डलर (तत्कालिन समयमा करिब सवा २ अर्ब) रुपैयाको प्रोजेक्ट आएको र सबै राजनीतिक दलहरुले चुनावी एजेण्डा बनाएको हुनाले पानीको समस्या सधैको लागि हल हुन्छ भन्ने धरानबासीले आशा गरेका थिए । 

स्थानीय तह निर्वाचन भएको ५ बर्ष पुरा हुनै लाग्यो । यो बीचमा धरानले एक कार्यवाहकसहित ३ जना प्रमुखको नेतृत्व पनि पायो, तर नगरबासीले चुनावी प्रतिवद्धता जसरी पानी पाउन सकेनन् । अहिले नगरबासी आफै निजी ट्यांकरबाट पानी किनेर पिउन बाध्य छन् । खानेपानी व्यवस्थापन बोर्डले ट्यांकरबाट टोल टोलमा पानी पुर्याएर वितरण गर्छ, यसरी वितरण गरेको पानी पर्याप्त छैन । बैशाख ३० गतेको निर्वाचन नजिकिदै गर्दा धरानमा खानेपानीको चरम अभाव छ । नेताहरु भोट माग्न आउने तयारीमा छन् तर मतदाता भने धारामा पानी आउने आशामा छन् । 

water1

२०७४ सालको निर्वाचनमा मेयर र उपमेयरमा एमालेबाट तारा सुब्बा र मञ्जु भण्डारी सुवेदीले जितेका थिए । मेयर सुब्बाको एक बर्ष कार्यकाल पुरा भएकै दिन निधन भएको थियो । त्यसबेला खानेपानी आयोजनाको काम सकिएको थिएन । मेयरको निधन पछि झण्डै डेढ बर्ष उपमेयर भण्डारीले कार्यवाहक मेयरकोरुपमा नगरको नेतृत्व गरिन् । उनको कार्यकालमा पनि आयोजना न पुरा भयो, न जनताले सहजरुपमा खानेपानी पाए । २०७६ मा मेयर पदमा उपनिर्वाचन भयो । उक्त उपनिर्वाचनमा खानेपानी आयोजनाको मुद्दालाई पनि प्रमुखताका साथ उठाएका नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भए । उनको पनि कार्यकाल सकिन एक महिना पनि बाँकी छैन । तर, उनले न आयोजना असफल भएको भन्न सकेका छन्, न जनतालाई खानेपानी खुवाउन सके । धरानमा ५ बर्षको अवधिमा ३ जनाले नगरको नेतृत्व हाँके, तर मुख्य खानेपानी समस्या ज्युँ का त्यँु छ । आयोजनामा भ्रष्टचार भएको आशंका गर्दै छानबिन गरेर दोषीलाई कारबाही गर्ने मेयर राईको चुनावी प्रतिवद्धतामा अहिले उनी मौन छन् ।

धरान ११ का मतदाता एन.सी.राईको वर्तमान मेयर तिलक राई पनि खानेपानी खुवाउने प्रतिवद्धता गरेर चुनाव जितेको स्मरण गर्छन् । तर, खानेपानीको हाहाकार नै रहेको भन्दै उनी आक्रोश पोख्छन् । ‘उहाँले पनि बोले जस्तो पानी खुवाउने प्रतिवद्धता पुरा गर्न सक्नु भएन । पानी मात्र खुवाइदिएको भए पनि राहत हुन्थ्यो,’उनी भन्छन्,‘चुनावको बेला प्रमुख एजेण्डा बनेको र पानी जस्तो आधारभूत आवश्यकता पनि पुरा नगर्दा जनप्रतिनिधिहरुको कार्यकाल राम्रो भयो, सफल भयो कसरी भन्नु ?’

'असफल जनप्रतिनिधि'

अर्थशास्त्रका सहप्रध्यापक एवं विश्लेषक डा.राजेन्द्र शर्मा चुनावका उठ्दै गर्दा जनप्रतिनिधिले गरेका वाचाहरु पुरा गर्न असफल देखिएको बताउँछन् । शर्माको नजरमा धरानमा अहिलेका जनप्रतिनिनिधले व्यवस्थित बसपार्क निर्माण कार्य शुभारम्भ गर्नु, फोहोर प्रशोधन केन्द्र सञ्चालन गर्नु र सर्दु, सेउती खोलामा पक्की पुल निर्माण हुनुलाई मात्र सकरात्मक काम भएको मान्न सकिन्छ । ‘जनतालाई राहत दिने काम गर्न सकेनन्, चुनावमा उठ्दै गर्दा गरेका वाचाहरु पुर्णरुपमा असफल देखियो,’डा.शर्माले भन्छन्,‘न जनतालाई पानी खुवाउन सके, न ६ लेनको जोगवनी–किमाथांका सडकलाई निकास दिन सके । सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्या पनि हल भएन ।’

dharan

डा.शर्माका अनुसार खानेपानी आयोजना असफल भएको  दोषको भारी राजनीतिक दलको नेतृत्वसँगै जनप्रतिनिधिहरुले पनि बोकेका छन् । पानी नपाएर जनता काकाकुल अवस्थामा पुगेको उनले बताए । कोशी राजमार्गको ६ लेन सडक धरानको मुख्य बजार भानुचोक हुदै घरहरु भत्काएर लैजाने कि बाइपास गरेर सेउती करिडोर हुदै लैजाने भन्ने निर्णय पनि अहिलेका जनप्रतिनिधिले गर्न नसकेको शर्माको भनाई छ । धरानमा एयरपोर्ट बनाउने राजनीतिक दलहरुको चुनावी एजेण्डा पनि अब समाप्त भएको छ । 

धरानमा ५ बर्ष भित्रै नेतृत्व फेरिरहेको कारणले काम हुन नसकेको हो कि भन्ने प्रश्नमा डा.शर्मा भन्छन्, ‘एकै जनाले ५ बर्ष नेतृत्व गरेको छिमेकी पालिकामा उत्साहजनक काम छैन । नेतृत्व परिवर्तन भएर काम गर्न सकिन भन्नु वहाना मात्र हो । योजना बनाएर काम गर्नेलाई एक, डेढ बर्ष पर्याप्त हो । बोर्डमा अल्पमतमा परेको कारण अफ्ठेरो भयो होला, तर ५ बर्ष एकल नेतृत्व चलेको पनि उत्साहजनक देखिन्न ।’ स्रोत: नागरिकदैनिक