धरान: धरानमा चुनावी गठबन्धन गर्ने सत्तारुढ दलहरुबीच कसरतमा भइरहदा निष्कर्षमा पुग्न सकेको छैन ।
नेताहरुका अनुसार मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने दलहरुबीच सहमति भएको छ, तर पनि औपचारिकरुपमा सार्वजनिक गरिएको छैन । वडाको संख्यामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी बीच कुरा नमिल्दा चुनावी गठबन्धनले मुर्तरुप लिन नसकेको हो । यद्यपी, गठबन्धन दलका नेताहरु सहमति नजिक पुगेको प्रतिक्रिया दिइरहेका छन् ।
शुरुमा धरानको मेयरमा माओवादी केन्द्रले पनि दाबी गरेपछि चुनावी गठबन्धन धरमराएको थियो । कांग्रेसले उपनिर्वाचनमा जितेको मेयर पद नछोड्ने र एक्लै चुनावमा जाने संकेत गरेपछि धरानमा गठबन्धन संकटमा परेको थियो । तर, धरानका नेताहरु गठबन्धन जोगाउने भन्दै दुई दिनयता निरन्तर छलफलमा बसेपछि सहमतिको वातावरण बनेको हो ।
माओवादी केन्द्रले उपमेयर लिन सहमत भएपछि अब वडाको भागवण्डा मिलाउन गठबन्धन दलको संयन्त्रका नेताहरु केन्द्रीत छन् । तर, एउटा वडामा माओवादी केन्द्र र जसपाबीच कुरा नमिल्दा चुनावी गठबन्धनले मुर्तरुप पाउन ढिलाई भएको हो । माओवादी केन्द्रका अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) बुधबार बिहान पुनः छलफल गरेर सहमतिको खाका सार्वजनिक गर्ने बताउँछन् । ‘भोली ठोस निष्कर्षमा पुग्छौ,’उनले भने ।
जसपा धरानका अध्यक्ष ताजुब लिम्बुल पनि सहमति नजिक पुगेको र बुधबार फाइनल कुरा आउने बताए । उनका अनुसार माओवादी केन्द्र र जसपाबीच एउटा मात्र वडामा कुरा मिलेको छैन । ‘एउटै मात्र वडामा नमिलेको हो । यो वा त्यो वडा भन्ने होइन, संख्याको कुरा हो,’उनले भने,‘बुधबार बसेर मिलाउछौ ।’