धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सुनसरी जिल्लाको १२ स्थानीय तहमा ३ हजार १ सय भन्दा बढी उम्मेद्वारहरुले विभिन्न पदमा उम्मेद्वारी दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार उम्मेद्वारको अन्तिम नामावली विवरण अनुसार सुनसरीमा कुल ३ हजार १ सय ९६ जना उम्मेद्वार छन् । ती मध्ये सबैभन्दा बढी धरान उपमहानगरपालिकामा ४४७ जना उम्मेद्वार रहेको निर्वाचन कार्यालयले जनाएको छ । धरानमा मेयर पदको लागि २० जनाको उम्मेद्वारी छ भने उपमेयरमा १० जना छन् । यस्तै, वडाअध्यक्षमा १५० जना, दुई जनाको खुल्ला सदस्यमा १५९ जना, महिला सदस्यमा ७२ जना र दलित महिला सदस्यमा ७१ जना उम्मेद्वार छन् ।

धरान पछि इटहरी उपमहानगरपालिकामा उम्मेद्वार संख्या धेरै रहेको छ । इटहरीमा कुल ४०८ जनाले उम्मेद्वारी दिएकोमा मेयरमा १६ जना छन् भने उपमेयरमा ७ जना छन् । वडाअध्यक्षमा ८७ जना, खुला सदस्यमा १५६ जना, महिला सदस्यमा ७५ र दलित महिला सदस्यमा ६७ जना उम्मेद्वार चुनावी मैदानमा छन् ।

यसैगरि, तेस्रो धेरै उम्मेद्वार भएको स्थानीय तह इनरुवा नगरपालिका रहेको छ । त्यहाँ मेयरमा १४ र उपमेयरमा १० जनासहित कुल ३१० जना उम्मेद्वार छन् । यस्तै, रामधुनी नगरपालिकामा २३१, बराहक्षेत्र नगरपालिकामा २४१, दुहबी नगरपालिकामा २८१, कोशी गाउँपालिकामा २८३, गढी गाउँपालिकामा १८३, देवानगञ्ज गाउँपालिकामा १९० जना उम्मेद्वार छन् भने बर्जु गाउँपालिकामा १३६, भोक्राहा नरसिंह गाउँपालिकामा २८८ र हरिनगर गाउँपालिकामा १९८ जना उम्मेद्वार छन् ।

election-candidate