धरान: 'नो लालपुर्जा नो भोट' अभियान चलाइरहेको नेपाल बसोबास बस्ती संरक्षण समाजले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदान गर्न सुकुम्बासीहरुलाई आह्वान गरेको छ ।

समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की र महासचिव राजु तामाङले एक प्रेश विज्ञप्ती जारी गर्दै स्थानीय निर्वाचनमा स्वविवेक प्रयोग गर्न सुकुम्बासीहरुलाई आह्वान गरेका छन् । स्थानीय चुनावमा आफुले इच्छाएको पार्टीलाई कसैको करकाप, दबाब र प्रभावमा नपरी स्वविवेक प्रयोग गरि मतदानको अधिकार सुनिश्चित गर्न पनि समाजले सबै भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई आग्रह गरेको छ । 

पाँच बर्षअघिको निर्वाचनमा सबै पार्टीहरुले सुकुम्बासीसँग गरेको वाचा पुरा नगरेको कारण बाध्य भएर 'नो लालपुर्जा नो भोट'को राष्ट्रिय अभियान चलाउनुपरेको भन्दै समाजले लालपुर्जा संघीय संसद र केन्द्र सरकारसँग सरोकार हुने भएकोले स्थानीय निर्वाचनमा मतदान गर्न आह्वान गरेको जनाएको छ । समाजका अध्यक्ष कार्कीले आउदो प्रदेश र संघको चुनावलाई भने माग पुरा नभएसम्म नो लालपुर्जा नो भोट अभियानलाई थप पेचिलो बनाउन सशक्तरुपमा अघि बढ्ने पनि बताए । 

समाजले फास्ट ट्रयाकबाट सिधा स्थानीय तहको सिफारिशमा जिल्ला नापी कार्यालयबाट जग्गा नाप्ने र मालपोत कार्यालयबाट लालपुर्जा दिने वैधानिक र खर्चरहित बाटो अपनाउदै भुमी आयोगको झन्झटिलो र झुक्याउने बाटो बन्द गर्नसमेत माग गरेको छ । नेपालमा कुल ७० लाख सकुम्बासीहरु छन् भने ४० लाख मतदाता भएको समाजको दाबी छ । धरानमा मात्र १३ हजार ५ सय घरधुरी सुकुम्बासीहरु छन् । धरानको १ लाख ३२४ कुल मतदाता मध्ये २४ हजार ८ सय सुकुम्बासीहरु छन् । 

sukumbasi-press