धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धन बाहिर रहेको जनता समाजवादी पार्टी (जसपा) ले पनि गठबन्धनको मेयर उपमेयर उम्मेद्वारलाई सघाउने भएको छ । 

मेयर उपमेयरसहित १५ वटा वडामा उम्मेद्वारी दर्ता गराएको जसपासँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सहमति भएको हो । अब ४ दलीय गठबन्धनबाट मेयरका उम्मेद्वार किसोर राई र उपमेयरका उम्मेद्वार अइन्द्रबिक्रम बेघा मात्र रहेको पत्रकार सम्मेलनमार्फत गठबन्धन दलहरुले उद्घोष गरेका छन् । यसअघि सहमति विथोलिदा मेयर र उपमेयरमा जसपा र एकीकृत समाजवादीले पनि उम्मेद्वारी दिएको थियो ।

एकीकृत समाजवादीले उम्मेद्वारी मनोनयन फिर्ता लिने अवधिभित्रै मेयर र उपमेयरको उम्मेद्वारी फिर्ता लिएर गठबन्धनमा सामेल भएको थियो भने जसपाले आज (मंगलबार) मात्र गठबन्धनको मेयर र उपमेयर उम्मेद्वारलाई समर्थन गर्ने घोषणा गरेको हो । अब जसपाको सम्पुर्ण शक्ति मेयर र उपमेयरमा गठबन्धनका उम्मेद्वारलाई जिताउन लागिपर्ने जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले बताए । 

के छ सहमति ?

लोकतान्त्रिक वाम गठबन्धनमा रहेको चार दलीय गठबन्धनबीच ७ बुँदे सहमति भएको छ । सहमतिको पहिलो बुँदामा नगर प्रमुखमा कांग्रेसका किशोर राई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघालाई सघाउने सहमति छ । 

यस्तै, धरानको वडा नं ४ मा नेकपा एकीकृत समाजवादीलाई सघाउने, सबै दलले आफ्नो उम्मेद्वारी नदिएको वडाहरुमा गठबन्धनका उम्मेद्वारहरुलाई सघाउने, सबै दलले गठबन्धन भएको वडाहरुमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति छ । 

यसैगरि, गठबन्धन दलका उम्मेद्वारले जितेको वडा र नगरमा गठबन्धन दलको राजनीतिक संयन्त्र निर्माण गरी साझा नीति तथा कार्यक्रम बनाउने र वडा तथा नगरमा बन्ने विभिन्न बिषयगत समिति, उपसमितिहरुमा सम्मानजनक सहभागिता गराएर वडा तथा नगर सञ्चालन गर्ने सहमति भएको छ । जनता समाजवादी पार्टीले नगर प्रमुख र उपप्रमुख पदमा दिएको उम्मेद्वारलाई निष्कृय पार्ने साथै वडाहरुभमा दिएको उम्मेद्वारीहरुलाई पनि सबै दलले सम्भव भएसम्म समझदारीमा ल्याउन पहल गर्नेलगायत सहमति भएको छ । 

भिडियो:

bam-lok

bam-lok1