धरान: मेयर र उपमेयरमा मात्र चुनावी गठबन्धन गरेको ३ दलबीच धरानमा पुनः १४ वटा वडामा गठबन्धन बनेको छ ।
वडामा मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेर आ आफ्नै पार्टीबाट उम्मेद्वार मनोनयन दर्ता गराएका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच वडामा पनि गठबन्धन गर्ने समझदारी बनेको हो । तीन दलबीच हिजो (बिहिबार) र आज (शुक्रबार) बीच निरन्तर संवाद भएपछि १४ वटा वडामा गठबन्धन भएको छ भने ६ वटा वडामा मैत्रीपुर्ण प्रतिस्पर्धा हुने भएको छ । ‘सकेसम्म सबै वडामा गठबन्धन गर्ने प्रयत्न थियो, तर सबैमा भएन । हामीले १४ वटा वडामा गठबन्धन गरेका छौ,’नेकपा माओवादी केन्द्र धरानका अध्यक्ष सुर्यबहादुर भटट्राई (मनोज)ले भने ।
वडामा पनि गठबन्धन गर्नकै लागि शुक्रबार उम्मेद्वारी मनोनयन फिर्ता गर्ने समयभित्र तीन दलले मेयर, उपमेयरसहित वडाअध्यक्षका उम्मेद्वारहरुलाई फिर्ता गराएको छ । नेकपा एसका मेयरका उम्मेद्वार रेवतीरमण राई र उपमेयरका उम्मेद्वार अमृता सुनारले उम्मेद्वारी मनोनयन फिर्ता गरेका छन् । यस्तै, कांग्रेसका एक जना वडाअध्यक्षले मनोनयन फिर्ता गर्दा गठबन्धनकै लागि माओवादी केन्द्रका ६ जनाले उम्मेद्वारी फिर्ता गरेका छन् ।
सरकारमा भएपनि जनता समाजवादी पार्टी (जसपा) भने धरानको चुनावी गठबन्धनमा सामेल छैन । वडाको सिट बाँडफाँडमा असन्तुष्टी जनाउदै जसपा धरानको चुनावी गठबन्धनबाट बाहिरिएको थियो । जसपाले धरानमा मेयर, उपमेयरसहित विभिन्न वडामा उम्मेद्वारी दिएको छ ।
कुन कुन वडामा भयो गठबन्धन ?
धरानमा तीन दलीय गठबन्धनबीच अन्तिम समयमा आएर पुनः १४ वटा वडामा चुनावी गठबन्धन भएको छ । धरानको वडा नं १, २, ३, ६, ७, ९, १०, १२, १३, १४, १५, १६, १८ र १९ वटा वडामा कांग्रेस, माओवादी केन्द्र र नेकपा एसबीच गठबन्धन भएको छ । धरानको वडा नं ४, ५, ८, ११, १७ र २० मा मात्रै एमालेसहित गठबन्धन दलहरु बीचमा पनि मैत्रीपुर्ण प्रतिस्पर्धा हुनेछ ।
नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेल माओवादी केन्द्र धेरै लचिलो भएकोले अधिकांश वडाहरुमा चुनावी गठबन्धन हुन सकेको बताउँछन् । ‘गठबन्धनको उद्देश्य जित्नु हो । धरानमा माओवादी केन्द्र पनि लचिलो भयो, र अधिकांश वडामा गठबन्धन गर्न सम्भव भयो,’पोखरेलले भने,‘हाम्रो एक मात्र उद्देश्य जित्नु हो । हामी हाम्रो उमेद्वार जिताउने गरि लाग्छौ । गठबन्धन नभएको वडामा मैत्रीपुर्ण प्रतिस्पर्धा गछौ ।’