धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा अब मात्र ३ दिन समय बाँकी छ । मतदानको समय नजिकिदै गर्दा धरानमा प्रमुख प्रतिस्पर्धी दलहरुबीचको चुनावी भिडन्त रोचक बन्दै गएको छ ।
आज राती १२ बजेदेखि मौन अवधि लागु हुन्छ । निर्वाचन आयोगले मतदानको ४८ घण्टा अघिलाई मौन अवधि तोकेको छ । मौन अवधि शुरु हुनुअघि धरानमा प्रमुख प्रतिस्पर्धी दलहरुले सामाजिक सञ्जालको दुरुपयोग गर्दै एकले अर्को उम्मेद्वारको चरित्रहत्या हुने गरि आचारसंहिता विपरीत प्रचारबाजी पनि शुरु गरेका छन् । बिशेष गरि धरानमा एमाले र लोकतान्त्रिक बाम गठबन्धनका मेयर र उपमेयरका उम्मेद्वारहरुलाई लक्षित गरेर दुवै पक्षले अर्नगल प्रचारबाजीलाई तीब्रता दिएका छन् ।
एमालेबाट मेयरमा मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदम इस्पो लिम्बु उम्मेद्वार छन् । भण्डारी धरानको मेयरमा पहिलो पटक महिला उम्मेद्वार छिन् । गठबन्धनबाट मेयरमा कांग्रेसका किशोर राई र उपमेयरमा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा उम्मेद्वार छन् । यी चारै जना उम्मेद्वारबारे सामाजिक सञ्जाल फेसबुकमा विभिन्न आरोप लगाउदै प्रचारबाजी गर्ने क्रम जारी छ ।
२०७६ को उपनिर्वाचनबाट धरानको नेतृत्व गुमाएको नेकपा एमाले र सत्तारुढ दलहरुको लोकतान्त्रिक बाम गठबन्धनबीच तीब्र चुनावी प्रतिस्पर्धा छ । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस उपनिर्वाचनको अप्रत्यासित परिणाम दोहोर्याउदै धरानको नेतृत्व कायम राख्न चाहन्छ । यसको लागि कांग्रेसलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको साथ छ । चुनावी मैदानमा एक्लै उभिएको एमाले उपनिर्वाचनबाट गुमेको आफ्नो विरासत फर्काउन चाहन्छ ।
एमालेले २०४९ र २०५४ को स्थानीय तह निर्वाचनमा धरानको मेयर, उपमेयर दुवै जितेको थियो । २०७४ को निर्वाचनमा पनि एमालेले जितेको धरानमा मेयर तारा सुब्बाको निधन पछि २०७६ मा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा भने पहिलो पटक नेपाली कांग्रेसका उम्मेद्वार तिलक राई विजयी हुँदै कम्युनिष्ट गढ भत्काएका थिए । उपनिर्वाचन हुँदा एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनिसकेको थियो । २०७४ को निर्वाचनको मतपरिणाम हेर्दा सहजै जित्नुपर्ने नेकपा उम्मेद्वार प्रकाश राईलाई २६ हजार ७०९ मत ल्याएका कांग्रेसका तिलक राईले २७९५ मतान्तरले पराजित गरेका थिए ।
एमाले र गठबन्धन दुवैलाई अन्तरघातको डर
धरानमा एमालेको संगठन वलियो मानिन्छ । त्यही नै एमालेले धरानमा जित्ने मुख्य आधार हो । यसपाली मेयरमा महिला उम्मेद्वार भएकोले पनि महिलाहरुको मत तान्नसक्ने एमाले नेताहरु बताउँछन् । तर, एमालेको चुनौती ४ दलीय गठबन्धन मात्र होइन, आफ्नै पार्टी भित्रको असन्तुष्ट समुहबाट हुने अन्तरघात पनि हो ।
केही नेता, कार्यकर्ताहरुले एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा गइसकेका छन् भने १० बुँदे पक्षधर नेताहरु पनि सन्तुष्ट छैनन् । गठबन्धनबाट मेयरमा किशोर राई उठेकोले आदिबासी जनजाति एमालेकै भोट पनि उनलाई जानबाट रोक्नुपर्ने चुनौती एमालेलाई छ । चुनावको मुखमा धरानमा भुसको आगो जस्तै जातीय नारा भित्रभित्रै सल्किएको छ ।
निर्वाचनमा कांग्रेसमा अन्तरघात विगतदेखि नै हुदै आएको छ । तर, यसपाली गठबन्धन भएकोले अन्तरघातको क्षतिपूर्ति अन्य दलबाट हुने कांग्रेस नेताहरुको अपेक्षा छ । चार दलीय गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले इमान्दारितापुर्वक भोट हाल्छन् कि हाल्दैनन् भन्ने आशंका पनि छ । धरानमा गठबन्धन तोडिदै, जोडिदै गरेर ४ दलीय गठबन्धन बनेको छ भने सबै वडाहरुमा पनि गठबन्धन छैन ।
स्वतन्त्र उम्मेद्वार राईको चुनौती
एमाले र गठबन्धनबीचको चुनावी भिडन्तलाई सामाजिक अभियन्ता हर्कराज राई (साम्पाङ)ले मेयरमा दिएको उम्मेद्वारीले थप रोचक बनाइदिएको छ । काठमाण्डौंमा स्वतन्त्र उम्मेद्वार वालेन साहले जस्तै धरानमा पनि स्वतन्त्र उम्मेद्वार राईको चुनावी चर्चाले उचाई पाएको छ ।
राईप्रति धरानका युवाहरुको ठुलो जमातको समर्थन देखिन्छ । उनले धरानको मेयरमा जित्ने गरि मत ल्याउन नसके पनि एमाले वा गठबन्धनका प्रतिस्पर्धीमध्ये एक उम्मेद्वारलाई हराउने गरी मत ल्याउने अनुमान गरिएको छ । सामाजिक सञ्जालमा मात्र होइन, आइतबार धरानमा उनले निकालेको र्याली र भानुचोकको सभामा उपस्थिति हेर्दा एमाले र गठबन्धनको लागि उनको उम्मेद्वारी सुखद देखिदैन ।
प्रमुख प्रतिस्पर्धी दल एमाले र गठबन्धनका उम्मेद्वारले एकअर्कालाई मात्र होइन, अब स्वतन्त्र उम्मेद्वार राईलाई जाने मत पनि छेक्नुपर्ने चुनौती थपिएको छ । एमाले र गठबन्धनलाई आफ्ना असन्तुष्ट मतदाताहरु जोगाउनुपर्ने थप दबाबमा छन् । राजनीतिक दलहरुबाट निराश मतदाताहरुले हर्क साम्पांगलाई भोट दिने देखिन्छ ।
विगतको चुनावहरुमा मतदाताहरुलाई ठुला दललाई बाहेक अन्य दल वा व्यक्तिलाई भोट हाल्ने विकल्प थिएन । धरानमा सधै कांग्रेस, एमालेबीच प्रतिस्पर्धा हुने गथ्र्यो भने २०६४ को संविधानसभा पछि माओवादी केन्द्र पनि विकल्पमा थपिएको थियो । यसपाली हर्क साम्पांग चुनावी एजेण्डासहित प्रतिस्पर्धामा भएकोले मतदाताहरु उनीप्रति आकर्षित देखिन्छ । २०७६ को उपनिर्वाचनमा पनि मेयरमा स्वतन्त्र उम्मेद्वार रहेका उनले ४२२ मत पाएका थिए । यो पटक उनी चुनावी अभियानमा एक्लै छैनन् । उनको समुहबाट उपमेयरमा दत्तकुमार लिम्बु पनि उम्मेद्वार छन् भने विभिन्न ८ वटा वडामा स्वतन्त्र वडाअध्यक्ष पनि उम्मेद्वारी दिएका छन् ।