धरान :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सुधारको माग गर्दै शुरु भएको घोपा बचाउ अभियान ५६ औं दिनमा वार्तामा भएको छ । 

सोमबार राती नगर प्रमुख हर्कराज राई (साम्पाङ) को रोहबरमा भएको वार्तामा सहमतिसमेत भएको छ । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह र वार्ता कमिटीका सदस्यहरुसमेत उक्त वार्तामा सहभागी थिए । सेभ घोपा अभियानको तर्फबाट पनि ९ जना वार्तामा सहभागी थिए । वार्तामा सेभ घोपा अभियानको मागहरुमा बुँदागत छलफल भएको थियो । उपकुलपति डा.गिरी र अस्पताल निर्देशक डा.साहले ती मागहरुबारे कति पुरा भएको, कति पाइपलाइनमा रहेको भन्दै प्रष्ट्याएका थिए ।

वार्तामा समस्या पहिचान तथा निराकरण गर्न ५ जनाको कार्यदल बनाएर यथास्रिघ समस्या समाधानको कार्य शुरु गर्ने सहमति भएको छ । कार्यदलमा सेभ घोपाको तर्फबाट २ जना सदस्य रहनेछन् भने प्रतिष्ठानको तर्फबाट २ जना र एक जना नगर प्रमुखकोतर्फबाट प्रतिनिधि रहने सहमति भएको छ । सेभ घोपाबाट स्पेन मगर र नविन राईं कार्यदलमा सदस्य रहनेछन् । 

ghopa-bachau

यसैगरि, तत्काल १५ दिनभित्र गर्न सकिने काम गर्ने, बाँकी कार्यदलको सिफारिश वमोजिम गर्ने पनि सहमति भएको छ । निर्देशन अनुसार काम नगर्नेलाई प्रतिष्ठानको नियमावलीमा भएको व्यवस्था वमोजिम कारबाही गर्ने पनि सहमति भएको छ । विगत ५६ दिनदेखि प्रतिष्ठानको डेन्टल गेटबाहिर धर्ना बसेर आन्दोलन गरिरहेका सेभ घोपा अभियान अझै २ सातासम्म जारी रहने प्रमुख अभियन्ता सुदन गुरुङले जानकारी दिए । दुई साताभित्र गर्न सकिने कामको भए नभएको देखेर मात्र आन्दोलन रोक्ने भन्दै उनले सुधार नभए सशक्त आन्दोलन चर्काउने पनि बताए ।

सोमबार आन्दोलनरत युवाहरुले उपकुलपति कार्यालय परिसरमा क्वार्टर फर्कदै गरेका उपकुलपति डा.गिरीलाई गाडीभित्रै घेराउ गरेपछि नगर प्रमुख राईको पहल र रोहबरमा वार्ता भएको थियो । प्रतिष्ठानले वार्ता समिति बनाए पनि आन्दोलनरत पक्षले उपकुलपति डा.गिरीको उपस्थितिमा मात्र वार्ता गर्ने अडान लिएका थिए । दिउँसो नगर प्रमुखको कार्यकक्षमा भएको वार्ता निष्कर्षविहिन भएको थियो ।