धरान: विनियोजन विधेयकमा सामाजिक विकास समितिको बजेट र उपमेयर कोषको विवाद नटुंगिदै आज धरानको नगरसभा हुदैछ । 

सुनसरी उद्योग वाणिज्य संघको हलमा दिउँसो १ बजे नगरसभाको तयारी भइरहेको छ । नगरसभा अघि उपमहानगरपालिकामा सहजीकरण समितिको बैठक बस्ने तयारी भइरहेको मेयर हर्कराज राई (साम्पाङ)ले जानकारी दिए । मेयर साम्पाङका अनुसार नगरसभामा कार्यपालिकाबाट अनुमोदन भइसकेको नीति तथा कार्यक्रम र आर्थिक विधेयक प्रस्तुत हुनेछ भने विनियोजन विधेयक प्रस्तुत हुने छैन । उनले भने,‘विनियोजन विधेयक जादैन । अरु प्रस्तुत हुन्छ ।’

विवादित बिषयमा आज बिहान पुनः कार्यपालिका बैठक बसेर सहमति जुटाउने भनिए पनि बैठक बस्न सकेन । हिजोको कार्यपालिका बैठकमा एमालेबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले सामाजिक विकास समितिको बजेट १ करोडबाट घटाएर ७५ लाख बनाएकोमा आपत्ति जनाएका थिए । यस्तै, उपमेयर कोष अलग्गै शिर्षकमा ८० लाख विनियोजन गरिएकोमा पनि उनीहरुले आपत्ति जनाएका थिए । उपमेयर कोषको बजेट मेयर कोषमा नै राखेर मेयर र उपमेयरले मिलेर चलाउनुपर्ने एमालेको माग छ । साथै, सामाजिक विकास समितिमा १ करोड विनियोजन गर्नुपर्ने एमालेको अडान छ । यही बिषयमा विवाद हुँदा हिजो कार्यपालिका बैठक छोडेर एमालेका कार्यपालिका तथा वडाअध्यक्षहरु बाहिरिएपछि विनियोजन विधेयक अलपत्र परेको थियो ।

मेयर साम्पाङ सबैको चाहना नगरको विकास गर्ने रहेको बताउदै सानातिना कुरामा अल्झिइरहेको प्रतिक्रिया दिन्छन् । उनले भने,‘साना कुरामा विवाद भइरहेको छ । हामी मसिनो कुरामा भुलिरहेका छौं । बजेट बाँडफाँटमा कुरा नमिलेको हो, पैसा कति राख्ने, कसको हातबाट परिचालन गर्ने भन्ने कुरा हो ।’

मेयर साम्पाङले उपमेयर कोष अलग्गै राख्ने कि मेयर कोषमा नै राखेर खर्च गर्ने बिषयमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताए । ‘मेरो कुनै कमेन्ट छैन । एक्लो मेयर र उमेयरले कराएर हुदैन । उहाँहरुले निर्णय गर्ने कुरा हो,’ मेयर साम्पाङले भने,‘तर सिलिङ समितिले स्वीकारेको बिषय भएकोले उहाँहरुले त्यसैमा सहमति गरे हुन्थ्यो ।’ मेयर साम्पाङले विगतको बर्षहरुमा मेयर कोष के कसरी परिचालन भयो भन्ने आफ्नो सरोकार नभएको तर आफ्नो कार्यकालमा पारदर्शिरुपमा उक्त कोषको बजेटलाई खर्च गर्ने पनि प्रतिवद्धता जनाए । ‘खर्च पारदर्शिरुपमा गर्ने हो । हिजो के भयो भन्ने ठेक्का लिन सक्दिन, आज र भोली मेरो कार्यकालमा पारदर्शिता हुन्छ,’ उनले भने ।

धरानका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले विनियोजन विधेयकको केही बुँदाबाहेक सबै बिषयमा हिजो नै कार्यपालिका बैठकमा टुंगिएको बताए । ‘विनियोजन विधेयकको केही बुँदामा सहमति जुट्न बाँकी हो । नीति कार्यक्रम र आर्थिक विधेयक पारित भइसकेको छ,’उनले भने,‘धरानमा पछि छलफल गर्ने चलन रहेछ ।’

भिडियो १ :

भिडियो २ :