धरान: धरानको कार्यपालिका बैठकमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ ।
खासगरि नेकपा एमालेका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बजेट विनियोजनमा असहमति जनाउदै बैठक छोडेर हिडेपछि स्थगित भएको हो । उपमेयर कोष र सामाजिक विकास समितिको बजेटमा एमालेको असहमति जनाउदै बैठक छाडेर हिडेपछि स्थगित भएको छ । विगतमा नभएको अभ्यास र कानुन विपरीत उपमेयर कोषको लागि बजेट विनियोजन गरिएको भन्दै एमालेबाट निवार्चित जनप्रतिनिधिहरुले असहमति जनाएका थिए । उनीह रुले विगतमा जस्तै मेयर कोषमा मात्र बजेट विनियोजना गर्नुपर्ने र मेयर, उपमेयरले मिलेर चलाउनुपर्ने अडान राखेका थिए ।
यस्तै, सामाजिक विकास समितिको बजेट पनि घटाएको भन्दै एमालेका कार्यपालिका सदस्यहरुले असन्तुष्टी जनाएका थिए । सहमति जुट्न नसकेपछि एमालेका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेर हिडेका थिए । एमालेबाट निवार्चित वडा नं ७ का वडाअध्यक्ष जीवन सुवेदीले ऐन, कानुन विपरीत उपमेयर कोष अनिवार्य राख्ने भनेपछि विरोध जनाएको तर सहजीकरण गर्न नसकेपछि आफुहरु बाहिरिएको बताए । ‘हामीले उपमेयर कोषको बजेट पनि मेयर कोषमा नै राखेर चलाउनुस्, तर छुट्टै नराखौं, त्यसो गर्दा आर्थिक ऐन विपरीत छ भन्दा जर्बजस्ती गर्नुभयो, र हामी बसेनौं,’उनले भने,‘मेयर कोष चाहिन्छ, उपमेयरले पनि मिलेर मेयर कोष चलाउनुस् भन्यौ, मानेनन् । सहजीकरण गर्न चाहनुभएन ।’
नगर कार्यपालिकाका प्रवक्ता सुर्यबहादुर भट्टराई (मनोज)ले अधिकांश बिषयमा सहमति भइसकेको र एउटा मात्र बिषय विनियोजन विधेयकमा सहमति जुट्न बाँकी रहेको बताए । उनले एमालेबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बहिष्कार गरेको नभै शुक्रबार बिहान बस्ने गरि बैठक स्थगित भएको दाबी गरे । उनले भने,‘मेयर र उपमेयर कोषको बजेट एउटैमा राख्दा राम्रो हो भनेर सुझाव आएको हो । सुझाव ग्रहण गरेर भोली बिहान सहमति जुट्छ ।’ प्रवक्ता भटट्राईले बिहान विनियोजन ऐनमा सहमति भएर नगरसभा पनि हुने दाबी गरे ।