धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले साउन ७ गतेसम्म स्वास्थ्य वीमाको सेवा नरोक्ने भएको छ । 

यसअघि, असार २० गते सोमबारदेखि स्वास्थ्य वीमाको सेवा स्थगित गर्ने सुचना जारी गरेको थियो । उक्त निर्णयबाट पछि हट्दै प्रतिष्ठानले वीमा सेवालाई साउन ७ गतेसम्म सुचारु गर्ने जनाएको छ । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले वीमा बोर्ड, धरानका मेयर र मानव अधिकार आयोगले पनि वीमाको सेवाहरु नरोक्न अनुरोध गरेकोले साउन ७ गतेसम्म सुचारु हुने जानकारी दिएका छन् ।

उपकुलपति डा.गिरीका अनुसार वीमा बोर्डबाट शोधभर्ना पाउनुपर्ने रकमको भुक्तानी साउन ७ गतेसम्म नभए पुनः साउन ८ गतेदेखि भने वीमाको सबै सेवा स्थगन गर्ने पनि प्रष्ट पारेका छन् । धरानका मेयर हर्क साम्पाङले प्रतिष्ठानका डेपुटी डाइरेक्टर, अस्पताल प्रशासन प्रमुखलगायतलाई बोलाएर साउन भरि सेवा नरोक्न आग्रह गर्दे वीमा बोर्डमा आफुले पनि पहल गर्ने बताएका थिए । साथै उनले बोर्डका कार्यकारी निर्देशकलाई फोन गरेर शोधभर्ना रकम उपलब्ध गराउन पनि आग्रह गरेका थिए ।

प्रतिष्ठानका अनुसार बोर्डबाट कुल ३४ करोड बढी रकम शोधभर्ना पाउन बाँकी रहेको जनाएको छ । आम्दानीको प्रमुख स्रोत नै प्रभावित भएपछि अहिले प्रतिष्ठान चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । चिकित्सक तथा कर्मचारीहरुलाई तलब भत्ता खुवाउन पनि प्रतिष्ठानलाई धौ धौ भइरहेको छ । सरकारले प्रतिष्ठानलाई भौतिक पुर्वाधार तथा मेशिनरी खरिदमा मात्र बजेट दिने गर्छ । यहाँको तलब भत्ता, दैनिक प्रशासनिक तथा सञ्चालन खर्च प्रतिष्ठानले आफै व्यवस्थापन गर्नुपर्ने हुन्छ ।