धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले वीमा बोर्डबाट करोडौं दाबी रकम उपलब्ध नभएको भन्दै यही असार २० गतेदेखि स्वास्थ्य वीमा अन्र्तगतकोसम्पुर्ण सेवाहरु स्थगन गर्ने जनाएको छ ।

प्रतिष्ठानले आज (सोमबार) एक सुचना जारी गर्दै स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत वीमितहरुलाई दिदै आएको सबै सेवा असार २० गतेदेखि स्थगन गर्ने जानकारी दिएको हो । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले जारी गरेको सुचनामा वीमा बोर्डबाट दाबी गरेअनुसार पाउनु पर्ने रकम नपाएकोले तलब भत्ता, दैनिक प्रशासनिक तथा अस्पताल खर्चमा प्रतिकुल प्रभाव परेको उल्लेख गरेका छन् । उनले दाबी अनुसारको सम्पुर्ण रकम यथाशीघ्र भुक्तानी नगरिएमा साथै उठान गरिएको समस्याहरु समाधान नगरिए बहिरंग(ओपिडी), इर्मजेन्सी र अन्तरंग(इनपेसेन्ट) अन्र्तगत दिइने सम्पुर्ण सेवाहरु असार २० गतेदेखि स्थगित गर्ने पनि उल्लेख गरेका छन् ।

प्रतिष्ठानले यसअघि पनि स्वास्थ्य वीमाको प्राविधिक तथा अन्य समस्याहरुको हल गर्न वीमा बोर्डले गम्भीरता नदेखाएको भन्दै स्थगन गर्ने घोषणा गरेको थियो । तर, गत जेठ २० गते प्रधानमन्त्री कार्यालय, वीमा बोर्डका पदाधिकारीहरु तथा सम्बद्ध अधिकारीहरुबीच प्रतिष्ठानमा छलफल गर्न आएका थिए । त्यसपछि पनि समस्या हल गर्न चासो नदिएको साथै रकम पनि नपठाएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानका अनुसार वीमा बोर्डले दाबी गरेको रकमलाई कम भ्यालुएसन गरिदिने तथा रिजेक्सन गरिदिने गरेको छ । कम भ्यालुएसन तथा रिजेक्सन भएको रकम ९ करोड बढी छ भने ३४ करोड बढी दाबीको रकम पाउन बाँकी छ । प्रतिष्ठानको प्रमुख आम्दानीको स्रोत नै उपचार गर्न आउने विरामीहरुको उपचार सेवा वापतको शुल्क हो ।

तर वीमा कार्यक्रमको कारण ७० प्रतिशत रकम वीमा सेवा दिए वापत बोर्डबाट समयमा नपाउदा आर्थिक संकट भएको छ । जसले गर्दा प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी नर्सिङ तथा अन्य कर्मचारीहरुको नियमित तलब भत्तालगायत दैनिक प्रशासनिक खर्च एवं अस्पतालको दैनिक सञ्चालन खर्चमा समेत प्रतिकुल प्रभाव परेको उपकुलपति डा.गिरीले बताएका छन् । वीपी प्रतिष्ठान स्वयत्त संस्था भएकोले सरकारले भौतिक पुर्वाधार निर्माणबाहेक अन्य खर्चको लागि बजेट उपलब्ध गराउदैन । यहाँको दैनिक प्रशासनिक तथा सञ्चालनको लागि आवश्यक खर्च, तलबभत्ता लगायत सबै प्रतिष्ठान आफैले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ । 

bpkihs-notice