धरान: हिन्दु महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा धरानमा पिपल्स सप लायन्स तिज उत्सव सिजन २ हुने भएको छ ।

पिपल्स सप र धरानका लायन्स क्लवको संयुक्त आयोजनामा यहि भदौं ९ गते एक दिने उत्सवको आयोजना हुन लागेको हो । आयोजकले वुधवार पत्रकार सम्मेलन आयोजना गरि पहिलो संस्करण पछि कोरोना महामारीको कारण दुई वर्ष रोकिएको उत्सवलाई निरन्तरता दिन लागेको जानकारी दिएको छ । पिपल्स सपका प्रोपराइटर एवं एरिया चिफ लायन कविता लिम्वुले पहिलो संस्करण पिपल्स सपको एकल आयोजना रहे पनि दोस्रो संस्करण धरानका लायन्स क्लवहरुको संयुक्त आयोजनामा हुन लागेको जानकारी दिइन्। 

विशेष गरि महिला लक्षित उत्सवमा मनोरञ्जनात्मक कार्यक्रमसंगै उपस्थितिहरु मध्येबाट मिस एण्ड मिसेज तिज उपाधि समेत प्रदान गरिने आयोजकले जनाएको छ । उपाधि विजेतालाई क्राउन र गिफ्ट ह्यापर प्रदान गरिने कार्यक्रमका संयोजक शिखा लिम्वुले बनाइन्। यसैगरि सहभागीहरुबाट नै मिस एण्ड मिसेस क्याटवक, वेस्ट ड्रेस, वेस्ट मेकअप, वेस्ट हेयर, वेस्ट गु्रप डान्स, सोलो डान्स लगायत उपाधि प्रदान गरिने संयोजक लिम्वुले बताइन्् । उनीहरुले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

धरान १५ स्थित किरात याक्थुम चुम्लुङ हिमको हलमा आयोजना हुने उत्सवमा मौलिक परिकार र सामग्रीहरुको स्टल समेत हुनेछ । स्टलमा मेहन्दी, नेलआर्ट, फुड स्टल, घरेलु सामग्री, सौदर्य सामग्री लगायत विक्रिका लागि राखिने छ । उत्सवको दिन लायन्स क्लव अफ पञ्चकन्याले शिक्षाको लागि एक रुपैया रकम संकलन अभियानको घोषण समेत गरिने लायन्स पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिइन् । एक करोड रुपैया संकलनको लक्ष्य सहित अभियान सुरु गरिने उनले बताइन् ।

उत्सववाट उठेको रकमले काठमाण्डौमा उपचार्थ क्यान्सर पिडित युमारानी लिम्वुलाई करिव दश हजार रुपैया सहयोग गरिने एरिया चिफ लायन कविता लिम्वुको भनाई छ । पत्रकार सम्मेलनमा रिजन चियर पर्सन लायन रुक्मणी मास्के, जोन चियर पर्सन लायन कमला लिम्वु, कृति श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।