धरान: बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीले धरानको व्यवसाय तथा कारोबार अनिश्चितकालको लागि बन्द गरेको छ ।

पुर्वलिखित प्रतिवद्धता अनुसार बिहिबार (भदौ १६) गतेदेखि सेयर सदस्य, वचतकर्ता एवं लगानीकर्ताहरुलाई नगद वितरण गर्न आन्तरिक एवं बाह्य प्राविधिक समस्याले सम्भव नभएको भन्दै बराहले एक सुचना टाँसेर भानुचोक र भोटेपुलको व्यवसाय तथा कारोबार बनद गरेको हो । सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा र कम्पनीका अध्यक्ष शिवकुमार लामिछानेले सुचना टाँगेर भदौ १६ बाट भुक्तानी काउन्टर सञ्चालन गर्न नसकेकोले अर्को सुचना नहुञ्जेल भानुचोक र भोटेपुलको भवनमा रहेको सम्पुर्ण व्यवसाय तथा कारोबार बन्द रहने जानकारी दिएका छन् ।

baraha-notice 1

यसअघि, बराहले भदौ १६ (बिहिबार) देखि काउन्टर सञ्चालन गरेर नगद वितरण गर्ने धरान उपमहानगरपालिकामा लिखित प्रतिवद्धता जनाएको थियो । यो दिन पर्खिबसेका सेयर सदस्य तथा वचतकर्ताहरु बिहिबार निराश भए । बिहिबार थुप्रै वचतकर्ताहरु पैसा पाउने आशामा धरान ८ स्थित बराह कम्प्लेक्समा पुगेका थिए । तर, बिहिबार उक्त भवनमा प्रवेश गर्ने मुलगेट नै बन्द गरिएको थियो । सहकारी पीडित संघर्ष समितिले मंगलबार नै पत्रकार सम्मेलन गरेर भदौ १६ गतेदेखि बराहले नगद विरतण गर्न नसक्ने र उक्त दिन कुनै अप्रिय घटना भए संघर्ष समिति जिम्मेवार नहुने बताएको थियो ।

पीडितहरुले नजिकिदै गरेको चाड दशैं तिहारको लागि केही मात्रामा भएपनि पैसा पाउने आशामा आएको तर बराहले पैसा नदिई सबै व्यवसाय बन्द गरेको भन्दै दुःख प्रकट गरे । उनीहरुले शुक्रबारदेखि पीडितहरु आन्दोलित हुने पनि चेतावनी दिए । पीडितहरुले संघर्ष समितिले अहिलेसम्म अलमलाएको र स्थानीय सरकार प्रमुख हर्क साम्पाङले पनि पीडितहरुको समस्या हल गरेर पैसा फिर्ता गराउन ध्यान नदिएको भन्दै गुनासो पनि पोखे । 

भिडियो: