धरान: भदौ १६ गतेदेखि पैसा फिर्ता गर्न शुरु गर्ने लिखित करारनामा गरेका बराह सहकारीका सञ्चालक र संघर्ष समितिबीचको वार्ता असफल भएको छ । 

बराह पीडित संघर्ष समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै आइतबार (१२ गते) भएको वार्तामा भदौ १६ गते रकम वितरण गर्न नसक्ने कुरा बराह सञ्चालकहरुबाट आएको जानकारी दिएको छ । समितिले भदौ १६ गते नगद वितरण हुने अवस्था नदेखिएको भन्दै उक्त दिन हुलहुज्जत, गाली गलौज, झगडा वा तोडफोड नगर्न पनि आग्रह गरेको छ । साथै, कोही कसैले त्यस खालको घटना गराएमा संघर्ष समितिले जिम्मेवारी नलिने पनि जनाएको छ । 

वार्ताको क्रममा सञ्चालकहरुले आफुहरु सुरक्षित हुने मनसायले संयुक्त विज्ञप्ती जारी गरौं भन्ने प्रस्ताव ल्याएको पनि संघर्ष समितिका कार्यवाहक अध्यक्ष श्याम प्रसाद ढकालले जानकारी दिए । साथै, सञ्चालकहरुले बचतकर्ताहरुको पैसा ७, ८ बर्षमा तिरिसक्ने पनि बताएको उनले बताए । सञ्चालकहरुले सबै जग्गा जमिन बैंकमा राखेर ऋण लिने प्रक्रियामा रहेको र एकै पटक सबै जग्गाजमिन फुकुवा गरिदिनु भन्ने दबाब दिएको तर रकम भुक्तानी गर्ने आधार नदेखिएकोले वार्ता तत्काललाई स्थगित गरिएको पनि संघर्ष समितिको तर्फबाट वार्ता टोलीका संयोजक शंकर थापोले जानकारी दिए । 

baraha-pidit1

बराह सहकारी सञ्चालकहरुले यसअघि भदौ १६ गतेदेखि रकम वितरण गर्ने लिखित करारनामा गरेका थिए । तर, केही दिन मात्र बाँकी रहदा पनि वितरण गर्ने अवस्था नदेखिएको वार्ता संयोजक थापाले बताए । त्यसैले उक्त दिन कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी स्वयम बराह सहकारीका सञ्चालकहरुले लिनुपर्ने पनि सञ्चालक समितिले प्रष्ट पारेको छ । साथै, संघर्ष समितिले सहकारी ऐन २०७५ वमोजिम सहकारीलगायत सञ्चालकहरु, उनीहरुका परिवारसमेतको सम्पत्ति र लुकाईएको सम्पत्ति छानबिन गरी समस्याग्रस्त सहकारी घोषणा गर्न पनि माग गरेको छ । 

भिडियो: