धरान: धरानको होटल तथा रेष्टुरेष्टहरु सञ्चालनको लागि नयाँ मापदण्ड कार्यपालिका बैठकमा प्रस्ताव गरिएको छ । 

बिहिबार भएको बैठकमा बिशेष प्रकृतिका होटल रेष्टुरेष्ट (लाउञ्ज एण्ड बार) र सामान्य प्रकृतिका होटल तथा रेष्टुरेष्टहरुको लागि पालना गर्नुपर्ने अलग अलग मापदण्ड प्रस्ताव गरिएको हो । प्रस्तावमा लाउञ्ज एण्ड बार बढीमा राती २ बजेसम्म खोल्न पाउने उल्लेख छ । यस्तै, ग्राहकको सुरक्षाको लागि सिसिक्यामेरा जडान, प्राइभेट वा छुट्टै पार्किङको व्यवस्था, साउण्ड प्रुफ हुनुपर्ने, परिचयपत्रसहित कर्मचारीलाई पहिचान खुल्ने पोशाक र बाउन्सरको व्यवस्था गर्नुपर्ने, ग्राहकलाई मदिरा खुवाउदा होस हवास हराउने गरि वा नियन्त्रण बाहिर नहुने गरि मात्र सेवन गराउनेलगायत मापदण्डहरु उल्लेख छ । 

रात्रीकालिन बजारको माग सम्बन्धित होटल व्यवसायी तथा रेष्टुरेष्टहरुले धेरै अघिदेखि माग गर्दै आएका छन् । करोडौं लगानीमा खुलेका लाउञ्ज एण्ड बारहरु राती १० बजे नै बन्द गर्नुपर्दा लगानी डुब्न लागेको भन्दै उनीहरुले सुरक्षाको प्रबन्ध मिलाएर रात्री अबेरसम्म खोल्न छुट दिनुपर्ने माग गर्दै आएका थिए । खासगरि धरान १५ स्थित बगरकोटका व्यवसायीहरुले रात्रीकालिन बजारको माग गर्दै आएका छन् भने धरान १० पुतलीलाइनका व्यवसायीहरुले पनि यो माग गर्दै आएका थिए । वडा १० मा निवार्चित अध्यक्ष विवेक राईले आफ्नो चुनावी एजेण्डा मध्येमा एउटा रात्रीकालिन बजार पनि बनाएका थिए । प्रस्तावित मापदण्डमा सामान्य प्रकृतिका होटल तथा रेष्टुरेष्टहरु भने बढीमा राती १० बजेसम्म मात्र खोल्न पाइने उल्लेख छ । 

अनुगमन समिति गठन, अर्को बैठकबाट प्रस्ताव पारित हुने

Karyapalika

कार्यपालिका बैठकमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीच प्रस्तावमाथि गम्भीर बहस भएको थियो । छलफल पश्चात थप सल्लाह सुझाव लिने तथा सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय गरेर अध्ययन प्रतिवेदन दिने गरि अनुगमन समिति बैठकले गठन गरेको छ । 

उपमेयर अइन्द्रबिक्रम बेघाका अनुसार वडा नं २ का अध्यक्ष रमेश राईको संयोजकत्वमा वडाअध्यक्ष, कार्यपालिका सदस्य, नगर प्रहरी प्रमुख सदस्य रहने र सम्बन्धित महाशाखा प्रमुख सदस्य सचिव रहने गरि समिति गठन भएको हो । यो समितिले विगतमा खगेन्द्र खतिवडाको संयोजकत्वमा बनेको प्रतिवेदनको आधारमा तयार भएको मापदण्डमा थप गर्नुपर्ने कुरा थपेर, प्रशासनिक तथा व्यवसायीहरुसँग समन्वय गरेर अध्ययन प्रतिवेदन दिनेछ । एक साताको समय दिइएको समितिले प्रतिवेदन बुझाए पछि अर्को बैठकबाट मापदण्डको प्रस्तावलाई परिपक्क बनाएर पारित गरिने पनि बेघाले बताए । 

भिडियो: