धरान: साबुन उद्योग बनाउन प्रस्ताव गरिएको जग्गामा वनको जग्गा परेर कानुनी अड्चन आएपछि धरानको कार्यपालिका बैठकले त्यसक्षेत्रलाई औद्योगिक ग्राम बनाउन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । 

बिहिबारको कार्यपालिका बैठकले धरान २० देवीगाउँ (सर्दु खोला पारिको क्षेत्र) लाई औद्योगिक ग्रामकोरुपमा विकास गर्न प्रक्रिया अघि बढाउने प्रस्ताव पारित गरेको हो । प्रस्ताव अनुसार उत्तरतर्फ विष्णुपादुका मार्ग, दक्षिणतर्फ सामुदायिक वन, पुर्वतर्फ सर्दु खोला र पश्चिमतर्फ देवी गाउँ सिमानाभित्र पर्ने स्थानलाई औद्योगिक ग्रामकोरुपमा विकास गर्ने प्रक्रिया अघि बढाइने भएको छ । 

कार्यपालिका बैठकले धरानमा साबुन उद्योग खोल्ने निर्णय गर्दा कुन ठाउँमा खोल्ने भन्ने तोकेको थिएन । मेयर हर्क साम्पाङले वडा २० देवीगाउँ क्षेत्रको जग्गामा उद्योग खोल्ने योजना अघि सारेपनि वन कार्यालय र वन उपभोक्ता समुहले कानुनी प्रक्रिया पुरा गरेर मात्र खोल्न आग्रह गरेको थियो । त्यसक्षेत्र वनको पर्ने र त्यहाँ वृक्षारोपण गरिएका विरुवाहरु पनि भएकोले कानुनीरुपमा साबुन उद्योग खोल्न पाइदैन । 

sabun

वन कार्यालयले प्रक्रिया अनुसार सरकारबाट भोगचलनको अधिकार स्थानीय सरकारमा आएपछि मात्र उक्त क्षेत्रमा उद्योग खोल्न उपभोग गर्न मिल्ने भन्दै आवश्यक प्रक्रिया अघि बढाउन भनेको थियो । सोही अनुसार उक्त जग्गामा औद्योगिक ग्राम बनाउन प्रक्रिया अघि बढाउने प्रस्ताव कार्यपालिकाबाट पारित भएको हो । अब आवश्यक जग्गा प्राप्तिको लागि वन समुह, वन कार्यालयमा प्रक्रिया अघि बढाउन पत्राचार हुनेछ । वन उपभोक्ता समुहले पनि पत्र आएपछि साधारणसभाबाट पारित गरेर सिफारिश गरिदिनुपर्नेछ । मेयर साम्पाङले त्यस क्षेत्रमा साबुन उद्योग मात्र नभै बेसार, कपासलगायत अन्य उद्योगहरु पनि स्थापना गर्ने योजना रहेको बताएका छन् । 

भिडियो: