धरान: फोहोरलाई व्यवस्थापन गर्न धरानमा ल्याण्डफिल साइट निर्माण गरिने भएको छ ।

एसियाली विकास बैंक (एडिबि)ले सहरी वातावरण सुधार गर्ने लक्ष्य लिएर धरानमा फोहोर व्यवस्थापनको लागी व्यवस्थित ल्याण्डफिलसाइट बनाउन अध्ययन भइरहेको छ । एडिबिले सन् २०१८ मा नै पुर्वसम्भाव्यता अध्ययन गरिसकेको योजनाहरु मध्ये अहिले धरानको फोहोर व्यवस्थापनको सम्भाव्यता अध्ययनको क्रममा रहेको छ ।

धरानको फोहोरलाई प्रशोधन गरेर ग्याँस उत्पादन भइरहे पनि सबै फोहोर त्यहाँ व्यवस्थापन हुदैन । कुहिन नसक्ने वा रिसाइकल नहुने फोहोरहरुलाई उपमहागनरपालिकाले अहिले पनि धरानको बाँझगरा सामुदायिक वन क्षेत्रसँगैको सेउती खोला किनारमा फाल्ने गरेको छ । रिसाइकल वा नकुहिने भएर फालिने फोहोर तथा दिशाजन्य फोहोरको दीगो समाधानको लागी एडिबिले अध्ययन गरिरहेको हो । 

landfilsite3

केही दिनअघि एडिबिको आरयुडिपी प्रजेक्टका डेपुटी टिम लिडर मनिषराज जोशी र फोहोर मैला व्यवस्थापन विज्ञ कृष्ण याङदेउ धरान आएका थिए । उनीहरुले उपमहानगरपालिकामा मेयर हर्कराज राई (साम्पाङ)सँग पनि छलफल गरेका थिए भने फोहोर फालिरहेको जंगल क्षेत्रमा पनि गएर ३ घण्टा बढी समय अध्ययन गरेका थिए । उक्त टोलीले ल्याण्डफिलसाइटको लागी जग्गा उपलब्ध हुनुपर्ने वा भोगाधिकार उपमहानगरपालिकाको हुनुपर्ने बताएको थियो ।

त्यसलगत्तै मेयर साम्पाङले बाँझगारा सामुदायिक वन समुहलाई छलफलको लागि बोलाएका थिए । सल्लाहकारसहित आएको वन समुहले उपमहानगरपालिकासँग यसअघि पनि भएको सहमति कार्यान्वयन नभएको भन्दै थप ७ बुँदे मागहरु पनि राखेको थियो । जसमा फोहोर व्यवस्थापन गर्न सेउती खोलाको दुवै किनारमा चेकड्याम लगाउनुपर्ने, २ जना हेरालु कर्मचारीको लागि बार्षिक ६ लाख ५० हजार बजेटको व्यवस्थापन गर्नुपर्ने, फोहोर फाल्ने समय बिहान ६ बजेदेखि साँझ ५ बजे मात्र तोक्नुपर्ने, फोहोर फाल्ने गाडी खोलाको उकास क्षेत्रबाट आवातजावत गर्नुपर्नेलगायत माग रहेको छ ।

landfilsite1

मागबारे पनि छलफल भएपछि ल्याण्डफिल साइट निर्माण प्रक्रिया अघि बढाउन उपमहानगरपालिका र वन समुहबीच ३ बुँदे लिखित सहमतिसमेत भएको छ । वन समुह क्षेत्रको कोशी राजमार्गको सेउती पुलदेखि लिएर तल्लो पानवारी जाने सेउती पुलसम्मको अन्दाजी १० हेक्टर जग्गा उपलब्ध गराउन वन समुहले बिशेष साधारणसभा मार्फत सहजीकरण गर्ने सहमति गरिएको छ भने ल्याण्डफिलसाइटको डिपिआर तयारी गर्दा सामुदायिक वन समुहले उठाएका बिषयहरुलाई सम्भव भएसम्म सम्बोधन गर्ने बिषयमा धरान उपमहानगरपालिकाले आवश्यक पहल गर्ने उल्लेख छ । यस्तै, यसअघि उपमहागनरपालिकासँग भएका सहमति भएका गर्नुपर्ने कार्यहरुमध्ये उपमहानगरपालिका आफैले गर्नसक्ने कामहरु बाँझगारा वन उपभोक्ता समुहसँग समन्वय गर्दै क्रमशः कार्यान्वयन गर्दै जाने पनि सहमति भएको छ । 

भिडियो: