धरान: निरन्तर कार्यपालिका बैठक बस्न नसके पछि आज धरानका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरेर मेयर हर्क साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाएका छन् । 

बिहिबार दिउँसो धरान उपमहानगरपालिका परिसरमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले कार्यपालिका बैठक बस्न नसक्नुमा मेयर साम्पाङले बैठकमा कार्यपालिका सदस्यलाई दिएको गैरजिम्मेवार अभिव्यक्ति भएको पनि बताएका छन् । उक्त अभिव्यक्तिप्रति आत्मालोचना गर्न माग राखेपनि मेयर साम्पाङले अस्वीकार गरि तोकआदेशको आधारमा नगर चलाउछुँ भन्ने स्वेच्छाचारी, गैरकानुनी र गैरजिम्मेवार अभिव्यक्ति दिएर अघि बढेकोले सहज वातावरण नबनेको पनि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बताएका छन् । उनीहरुले मेयर साम्पाङले कार्यशैली परिवर्तन गरेर म नभै हामी भन्ने भावना अनुरुप धरानको विकास गर्न एकतावद्धरुपमा अघि बढ्ने वातावरण सृर्जना गर्न पनि माग गरेका छन् ।

karyapalika-press

वडा नं १७ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता सुर्य भट्टराई (मनोज)ले नेतृत्वको रुपमा मेयर साम्पाङले वैठक सुचारु गर्न कुनै पनि पहल नगरेको बताए । साथै मेयर साम्पाङले अराजक र स्वेच्छारी प्रवृत्ति देखाएको पनि उनले बताए । मेयर साम्पाङले गैरसंवैधानिक र गैरकानुनीरुपमा तोकआदेशकै आधारमा काम गरिरहेको र त्यसको जवाफदेही नगर कार्यपालिका नहुने पनि उनले बताए ।

मेयर साम्पाङले विभिन्न विकास निर्माणको लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक लगाएको, विना निर्णय साबुन उद्योगको निर्माण कार्य शुरु गरेको, विपी पार्कको नाम परिवर्तन गरि विना निर्णय आफ्नो फोटो राखेर श्रम सँस्कृति पार्क नामकरण गरेको, सामाजिक सञ्जाल (फेसबुक)मा तुच्छ शब्दहरु प्रयोग गरि गाली गलौज गर्दै प्रस्तुत भएको, जातीय सद्भाव खलबलिने गरि चमारे भन्ने शब्द प्रयोग गरि दलित समुदायको आत्मासम्मानमा चोट पुर्याएको, सेवाग्राहीहरुलाई हप्कीदप्की गर्नुका साथै राष्ट्र सेवक कर्मचारीहरुलाई अपमानित गर्ने गरेको लगायत आरोप पनि पत्रकार सम्मेलनमा लगाइएको थियो । 

भिडियो: