धरान: करिब ३ महिना पछि आज (सोमबार) धरानको कार्यपालिका बैठक सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ । 

गत असोज १३ गते भाँडिएको बैठक त्यसपछि पनि लगातार ३ पटक आह्वान भएर पनि बस्न सकेको थिएन । मेयर हर्क साम्पाङ र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीच सम्बन्ध चिसिदै जादा समग्र धरानको विकासमा दुरगामी असर पर्ने भन्दै चिन्तासमेत प्रकट हुन थालिसकेको थियो । तर, आइतबार साँझ उपमेयर अइन्द्रबिक्रम बेघाको समन्वयमा मेयर साम्पाङ र राजनीतिक दलको प्रतिनिधित्व हुने गरि वडा १५ र १८ का अध्यक्षसहित संवाद भएपछि बैठक बस्ने वातावरण बनेको थियो । 

आजको बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि मेयर साम्पाङ, उपमेयर बेघा र वडाअध्यक्षहरु वडा १५ का नरेश इवारम, वडा १८ का नरेन्द्रकुमार राई (प्रविण) र वडा १७ का सुर्यबहादुर भट्टराई (मनोज)ले क्रमशः सम्बोधन गरेका थिए । हिजो संवादको क्रममा भएको समझदारी अनुसार नै बैठकमा एजेण्डा प्रस्तुत हुनुअघि सम्बोधन गर्ने तय गरिएको थियो । 

शुरुमा मेयर साम्पाङले सम्बोधन गर्दै कार्यपालिका बैठक स्थानीय सरकारको सदन पनि भएकोले विभिन्न कुराहरु उठ्ने र त्यसमा सहमति, असहमति हुनसक्ने भन्दै त्यसक्रममा विगतमा सबैबाट नहुनुपर्ने गल्ती भएको बताए । उनले आउने दिनमा त्यस खालको गल्ती नहुने गरि सबै सच्चिएर अघि बढ्न आग्रह गर्दै बैठक सुचारु गरेर सम्पन्न गर्न आह्वान गरेपछि वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले टेवल ठटाएर समर्थन जनाएका थिए । 

मेयर पछि सम्बोधन गर्दे उपमेयर बेघाले पनि विगतलाई बिर्सेर नयाँ ढंगले अघि बढ्न, विगतको कमीकमजोरीलाई सच्याउदै पाठ सिकेर अघि बढ्नुपर्ने बताए । आफ्नो गतिविधि, कामकारबाहीले कसैलाई असर परेमा, अफठेरो परेमा कम्तीमा अपसी समझदारीमा बसेर व्यवस्थापन गर्दै लैजान पनि उनले सबैलाई आग्रह गरेका थिए । ‘बिषय बस्तुलाई तन्काएर लैजादा नगरलाई र हामीलाई पनि अफठेरो पर्नसक्छ । सबै कुराको सामुहिक दायित्व र जिम्मेवारी बोध गरेर लैजानुपर्छ,’ उनले भने,‘कार्यपालिका बैठकलाई व्यवस्थित र विधिसम्मतढंगले लैजानुपर्छ, त्यसको लागि सबैले जिम्मेवारी वहन गर्नुपर्छ । त्यही नै हाम्रो निष्कर्ष हो, समझदारी हो ।’

dharan-karya1

उनले सबै जनताको मुद्दालाई नै सहजीकरण गरेर व्यवस्थापन गर्न निवार्चित भएर आएको भन्दै मेयर, उपमेयर, वडाअध्यक्ष, कार्यपालिका सदस्य सबैको भुमिका जोडेर मात्र कार्यपालिका र समग्र नगरको भुमिका हुने पनि बताए । कुनै बिषयलाई धेरै नतन्काउन सबै सचेत रहनुपर्ने भन्दै उपमेयर बेघाले कसैले वडाअध्यक्षहरुलाई र कसैले मेयरलाई उकास्ने काम नगर्न पनि आह्वान गरे । 

वडा नं १५ का अध्यक्ष नरेश इवारमले पनि सबै जनप्रतिनिधिहरु धरानको विकास गर्न आएकोले एकतावद्ध भएर अघि बढ्ने र त्यसको शुरुवात भएको भन्दै खुशी व्यक्त गरे । ‘हामी ५ बर्षको लागि जनताको म्याण्डेट लिएर आएका छौं । हामी सकरात्मक पक्षले अगाडि बढ्नुपर्छ । नयाँ शुरुवात हुदैन, एकताको साथ अघि बढ्नेछौं,’उनले भने । 

वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले आइतबार साँझ भएको संवादमा सबैभन्दा बढी मेयर खुशी भएको खुलाउदै बैठक सुचारु हुँदा अत्यन्तै खुशी लागेको बताए । उनले भने, ‘सम्पुर्ण कार्यपालिका सदस्यहरुबाट राम्रो काममा साथ, सहयोग रहनेछ । धरानको विकासमा साथ, सहयोग हुन्छ,’उनले भने । 

वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले उपमेयर बेघाले समन्वयकारी भुमिका निर्वाह गरेकोमा बिशेष धन्यवाद दिदै सहअस्तित्व, सहकार्य, सहमति र सद्भावले एकता पैदा गर्ने भएकोले सबैले यसतर्फ ध्यान दिनुपर्ने बताए । बैठकमा व्यक्तिगत घरायसी झगडा र लेनदेनको छलफल नहुने भन्दै उनले धरानको समग्र विकास र समृद्धिको लागि नै छलफल हुने बताए । तर, छलफल त्यो ढंगले हुन नसकिरहेको भन्दै अध्यक्ष भट्टराईले मिडियाले पनि धरानलाई एकतावद्ध गराउने गरि भुमिका निर्वाह गर्न आग्रह गरे । ‘अहिलेको जस्तो एकता र सद्भाव स्थायीत्व होस् । हामीले एकले अर्कालाई मन पराए पनि मन नपराए पनि ५ बर्षसम्म एकअर्काको परिपुरक हौं, यो कुराको हेक्का रह्यो भने सहमति र सहअस्तित्वतिर नै लैजान्छ,’उनले भने । 

भिडियो: