धरान: नेपालकै नम्बर वान प्रोफेस्नल गल्फर शुक्रबहादुर राईले घरेलु गल्फ कोर्षमा १७ अण्डरको रेकर्ड बनाउदै इष्टर्न ओपन च्याम्पियन बनेका छन् ।
पार ७० को गल्फ कोर्षमा बिहिबार तीन दिन ५४ होलको खेल सकिदा शुक्रले कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाउदै च्याम्पियन भएका हुन् । यो कोर्षमा १७ अण्डरको रेकर्ड बनाउने उनी पहिलो खेलाडी हुन् । यसअघि सन् २०२० मा धरानकै व्यवसायिक खेलाडी बलभद्र राई (मणि)ले ९ अण्डरको रेकर्ड बनाएका थिए ।
शुक्रले पहिलो दिन ४ अण्डर ६६, दोस्रो दिन ६ अण्डर ६४ र तेस्रो दिन आज (बिहिबार) ७ अण्डर ६३ स्कोर गरेका थिए । बिहिबार फ्रन्ट नाइनमा ३ अण्डर ३३ खेलेका उनले ब्याक नाइनमा ४ अण्डर ३० स्कोर खेले । २४ बर्षीय च्याम्पियन शुक्रले ट्रफीसँगै नगद १ लाख ४० हजार पुरस्कार पनि हात पारेका छन् । सन् २०१९ मा प्रो टर्न भएपछि यो उनको छैटौं उपाधि पनि हो ।
यस्तै, धराने गल्फर निरज तामाङ कुल ९ अण्डर २०१ स्कोरका साथ दोस्रो भएका छन् । उनले पहिलो दिन ५ अण्डर ६५, दोस्रो दिन १ अण्डर ६९ र तेस्रो दिन ३ अण्डर ६७ स्कोर खेलेका थिए । उनले नगद ९० हजार हात पारे । कुल ५ अण्डर २०५ स्कोरका साथ भुवन नगरकोटी तेस्रो हुँदै नगद ६७ हजार थापे भने कुल ४ अण्डर २०६ स्कोर गरेर चौथो भएका सञ्जय लामाले नगद ५५ हजार हात पारे ।
एमेच्योरतर्फ भने इभन पार २१० स्कोरका साथ स्थानीय गल्फर राजकुमार राई च्याम्पियन भए । उनी समग्रमा पाँचौ पनि भएका छन् । पहिलो दिन १ ओभर ७१ खेलका राजकुमारले दोस्रो दिन ३ अण्डर ६७ खेले भने तेस्रो दिन २ ओभर ७२ स्कोर गरे । कुल ३ ओभर २१३ स्कोरका साथ स्थानीय युवराज भुजेल एमेच्योरतर्फ उपविजेता भए । उनीहरुले ट्रफी पुरस्कार हात पारे ।
प्रतियोगतामा २९ व्यवसायिक खेलाडी र ११ एमेच्योर खेलाडीहरु भाग लिएका थिए । दोस्रो दिनको खेल सकिएपछि २१ व्यवासायिक र ६ एमेच्योर खेलाडीहरुले कट बनाएर फाइनल खेलेका थिए । खेलाडीहरुलाई सुर्य नेपालका ब्राण्ड मेनेजर विदुरराज अधिकारी, धरान गल्फ क्लबका सचिव भरत तामाङ, क्लबका कार्यसमिति सदस्य जगमोहन राई र सुर्य नेपालका रिजनल मेनेजर दामोदर शर्माले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा शुक्रबार प्रो एम स्पर्धा हुनेछ ।
भिडियो: