धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गत प्रो एम स्पर्धामा शुक्रबार भाग लिन देशभरका एमेच्योर खेलाडीहरु धरान आएका छन् ।
मुख्य इभेन्ट तीन दिने इष्टर्न ओपन बिहिबार सकिए पछि शुक्रबार एक दिने प्रो एम स्पर्धा भएको हो । उक्त स्पर्धामा भाग लिन पुर्वमन्त्री कर्ण थापा पनि धरान आएका थिए । उनीसहित व्यवसायिक खेलाडी शुक्रबहादुर राईको टिम प्रो एम विजेता भएको छ । पार ७० को गल्फ कोर्षमा शुक्रबार आयोजित स्पर्धामा कुल १७१ स्कोरका साथ शुक्रको टिम विजेता भएको हो । नेपालकै नम्बर वान गल्फर शुक्रले ४० स्कोर खेलेका थिए भने उनको टिमका एमेच्योर खेलाडीहरु काजी ताप्मादेनले ४७, पुर्वमन्त्री कर्णबहादुर थापाले ४३ र कवि थापाले ४१ स्कोर खेलेका थिए ।
यस्तै, व्यवसायिक खेलाडी सविन सापकोटाको टिम १५३ स्कोरका साथ दोस्रो भएको छ । उनले ३७ स्कोर गरेका थिए । उनको टिमका एमेच्योर खेलाडीहरु अर्जुन सुनुवारले ३९, नेपाल प्रहरीका एसपी भिम दाहालले ३९ र गजेन्द्र लिम्बुले ३८ स्कोर गरेका थिए ।यसैगरि, व्यवसायिक खेलाडी सञ्जय लामाको टिम १५१ स्कोरका साथ तेस्रो भयो । सञ्जयले ३७ स्कोर खेल्दा उनको टिमका एमेच्योर खेलाडीहरु सुयस प्याकुरेल ३८, भरत तामाङले ३८ र रविन राईले ३८ स्कोर गरेका थिए । स्पर्धामा ३८ स्कोर खेलेकी सुमित्रा लिम्बुले महिलातर्फको वेष्ट स्कोर पुरस्कार पाइन् । यस्तै, प्रतियोगिताको लङ्गेष्ट ड्राइभको पुरस्कार बद्री राईले जिते भने राजेश राईले क्लोजेष्ट टु दि पिनको पुरस्कार जिते ।
विजेता खेलाडीहरुलाई आयोजक नेपाल प्रोफेस्नल गल्फर्स एशोसिएशनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, धरान गल्फ क्लबका कार्यसमिति सदस्य जगमोहन राईलगायतले पुरस्कार वितरण गरेका थिए । चार दिने प्रतियोगिताको मुख्य प्रतियोगिता इष्टर्न ओपन भने बिहिबार नै सम्पन्न भइसकेको थियो । प्रतियोगितामा नम्बर वान गल्फर शुक्रबहादुर राईले धरानको गल्फ कोर्षमा १७ अण्डरको रेकर्ड बनाउदै च्याम्पियन बनेका थिए । उनले नगद १ लाख ४० हजार पुरस्कार पनि जितेका थिए ।
भिडियो: