धरान: धरानमा २ दिने खुकुरी एमेच्योर गल्फ प्रतियोगिता आयोजना हुने भएको छ ।
धरान गल्फ क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै ६ र ७ जनवरीमा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । खुकुरी रम मुख्य प्रायोजक रहेको प्रतियोगिता आगामी बर्षहरुमा पनि निरन्तरता पाउने आशा गरिएको धरानका व्यवसायिक खेलाडी सविन सापकोटाले जानकारी दिए ।
एमेच्योर प्रतियोगिता प्रायः एक दिवसिय मात्र हुने गर्छ । यो प्रतियोगिता भने २ दिन हुन लागेकोले युनिक भएको पनि सापकोटाले बताए । उनका अनुसार टिम फर्मेटमा २ दिन ३६ होल खेल हुनेछ । पहिलो दिन १८ र दोस्रो दिन १८ होलको खेल हुनेछ । एक टिममा ४÷४ जना खेलाडी हुनेछन् । प्रतियोगितामा ३ वटा ह्याण्डीक्याप क्याटोगरी बनाइने आयोजकले जनाएको छ । पहिलो क्याटोगरीमा ० देखि ९ ह्याण्डीक्याप खेलाडी हुनेछन् भने दोस्रोमा १० देखि १८ ह्याण्डीक्याप र तेस्रोमा १९ ह्याण्डीक्यापदेखि माथिको खेलाडी हुनेछन् । प्रत्येक टिमबाट पहिलो हुने ४ जना, दोस्रो हुने ४ जना र तेस्रो हुने ४ जना क्रमशः पहिलो, दोस्रो र तेस्रो विजेता हुनेछ ।
प्रतियोगितामा देशभरबाट ७० भन्दा बढी खेलाडीहरु सहभागी हुने अपेक्षा गरिएको आयोजक क्लबका सचिव भरत तामाङले जानकारी दिए । पहिलो दिन १८ होलको खेल सकिएपछि खेलाडीहरु कट आउट हुनेछन् । दोस्रो दिन मात्र ५२ जना खेलाडीहरुलाई सहभागी गराइने उनले बताए । यो प्रतियोगिताले खेलाडीहरुमा सद्भाव र खेल क्षमता बढाउने उनले बताए ।
प्रतियोगितामा बेष्ट ग्रस, मोष्ट बर्डीज, नियरेष्ट टु दि पिन, लङ्गेष्ट ड्राइभ, होल इन वानलगायत पुरस्कार पनि दिइनेछ । नेपाल प्रोफेस्नल गल्फर्स एशोसिएशनका महासचिव दिपक आचार्यले एमेच्योर गल्फ प्रतियोगितामा यो कोसेढुंगा हुने प्रतिक्रिया दिए । गल्फ क्लबका सदस्य जगमोहन राईले धेरै प्रयासपछि प्रतियोगिता आयोजना हुन लागेकोले सफल बनाउन र बर्षेनी आयोजना गर्न पहल गरिने बताए । खुकुरी रमको असिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानले खेलकुदको विकासको लागि कर्पोरेटस्तरबाट लगानी गरिएको बताए । उनले खेलाडीहरुले अवसर पाउनुपर्ने भन्दै सकरात्मक प्रतिक्रिया पाए निरन्तरता दिइने बताए ।