धरान: आगामी फागुन १३ गते हुन लागेको धरान १० के रन ११ औं नेवा च्यारेटी २०७९ को प्रचारप्रसार गर्न धराने युवाहरु चतरास्थित कोशी पुलसम्म दौडिएका छन् ।

प्रमोशन रन नाम दिइएको दौड धरानदेखि कोशी पुलसम्म १८ किलोमिटर भएको धरान रन समुहका अध्यक्ष रमु राईले जानकारी दिए । दौडमा धरान रन समुहका धावकधाविकाहरु सहभागी भएको पनि उनले बताए । प्रमोशन रन धरान हुँदै चतराको कोशीपुलसम्म १८ किलोमिटर सम्पन्न गर्यौं, उनले भने । प्रमोशन दौडमा तरहरा साइकिङ टिम र साइकल ल्याब एन्ड आउट्डोरले पनि सहकार्य गरेको थियो । 

dharan-run1

मोफसलको सर्वाधिक सहभागिता रहने धरान १० के रनको ११ औ सँस्करण आगामी फागुन १३ गते धरानमा हुदैछ । उक्त दौड प्रतियोगिताको दर्ता फारम खुलिसकेको छ । विद्यालयको विद्यार्थीहरुलाई दर्ता शुल्क ४ सय र अन्यलाई ५ सय तोकिएको छ । आयोजकले यसपाली पहिलो पटक दौडमा चिप टाइमिङ सिस्टम प्रयोगमा ल्याउने पनि जनाएको छ ।  प्रत्येक धावक धाविकाहरुलाई चेस्ट नम्बरमा चिप लगाएर समय मापन गरिनेछ । यसले कोही पनि दौडको बीचमा फास्ट ट्रयाकबाट दौडन नसक्ने र सही टाइमिङ देखिने समुहको भनाई छ । 

प्रतियोगितामा १६ देखि ३९ बर्षसम्मका खुल्ला दौड समुहतर्फ महिला र पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ६० हजार, ४० हजार र ३० हजार दिइनेछ । १३ बर्षमुनिकालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइनेछ । १३ देखि १६ बर्षभित्रकाहरुलाई पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइनेछ भने ४० बर्षमाथिका भेट्रान समुहका विजेताहरुलाई पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइने समुहले जनाएको  छ। 

dharan-run2

प्रतियोगितामा ह्विलचियर रेस पनि हुनेछ भने सबैलाई टि सर्ट उपलब्ध गराउने धरान रन समुहले जनाएको छ । वातावरण संरक्षणको लागि प्लाष्टिकजन्य बोतल, गिलासलाई न्युनिकरण गर्ने र खेलकुद तथा समाजमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान पनि हुनेछ । नेवा च्यारिटी अन्तर्गत रहेको नेवा एजुकेशन फण्डबाट विद्यार्थीहरुलाई छात्रवृत्ति निरन्तरता दिइनेछ । एजुकेशन फण्डको ब्याजबाट प्रत्येक ३ महिनामा १२ जना विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री (छात्रवृत्ति) प्रदान गर्दै आइरहेको छ । 

तस्बिर: प्रतित चाम्लिङ राई 

dharan-run3

dharan-run4

dharan-run5

dharan-run6

dharan-run7