धरान: बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण आगामी फागुन दोस्रो सातादेखि हुने भएको छ ।
धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले एक विज्ञप्ती जारी गर्दै २ बर्षदेखि हुन नसकेको प्रतियोगिताको २३ औं सँस्करण फागुन १३ देखि २० गतेसम्म आयोजना गर्ने जानकारी दिएका छन् । २०५५ सालदेखि निरन्तर हुदै आएको बुढासुब्बा गोल्डकप विगत २ बर्ष यता भने हुन सकेको छैन । धरान १६ स्थित रंगशालामा सञ्चालन हुने प्रतियोगितालाई सम्पन्न गर्न सचिवालय र विभिन्न उपसमितिहरु पनि गठन गरिएको विज्ञप्तीमा खुलाइएको छ ।
अध्यक्ष किशोर राईको अध्यक्षतामा पदाधिकारीहरु रहेको सचिवालय गठन गरिएको छ भने नविन राई संयोजक रहेको आर्थिक उपसमिति, प्रताप तामाङ संयोजक रहेको प्रचारप्रसार उपसमिति, सुदिप उप्रेती संयोजक रहेको मैदान व्यवस्थापन उपसमिति र रोमी मोक्तान संयोजक रहेको आयोजक टिम तयारी उपसमिति गठन भइसकेको पनि क्लबले जनाएको छ ।
यसैगरि, २३ औं सँस्करण सफलतापुर्वक सम्पन्न गर्न नगर प्रमुख, २० वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरुसँग आर्थिक सहयोगको लागि सौहार्दपुर्ण वातावरणमा छलफल सन्पन्न पनि भइसकेको क्लबले जनाएको छ । प्रतियोगितामा सहभागीताको लागि काठमाण्डौंका एक डिभिजन क्लबहरु, भारत र मोफसलका उत्कृष्ट क्लबहरुसँग सम्पर्क भइरहेको तर निर्णय हुन बाँकी रहेको पनि आयोजक क्लबले जनाएको छ ।
प्रतियोगिता अघि नै पुरस्कार राशी दिने प्रतिवद्धता
आयोजक क्लबले पछिल्लो पटक सम्पन्न भएको २२ औं सँस्करणको विजेतालाई पुरस्कार दिन सकेको छैन । हालै पोखरामा सम्पन्न भएको आहा रारा गोल्डकप अघि मनाङ मस्र्याङ्दी क्लबले पुरस्कार राशी नदिएको भन्दै धरान फुटबल क्लबलाई सहभागी नगराउन भन्दै लेखेको पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि क्लबले तीब्र आलोचना खेपेको थियो ।
क्लबले कोरोना महामारीको कारण राखेपबाट प्राप्त हुने पुरस्कार रकम फ्रिज भएको साथै प्रथम पुरस्कार राशी तत्कालिन १ नम्बर प्रदेश सरकारबाट पनि प्राप्त नभएकोले पुरस्कार राशी दिन नसकेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । क्लबले २३ औं सँस्करण आयोजनाअघि नै पुरस्कार राशी सम्बन्धित क्लबहरुलाई उपलब्ध गराउने जानकारी अखिल नेपाल फुटबल संघमार्फत जानकारी गराइसकेको विज्ञप्तीमा उल्लेख छ ।