धरान: धरान ५ स्थित अधेरी खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको घर उपमहानगरपालिकाको डोजरले भत्काइदिएपछि आक्रोशित व्यक्तिहरुले वडाअध्यक्षको घरमा आक्रमण गरेका छन् ।

आफु घरमा नभएको बेला गएर आफ्ना परिवारका सदस्यहरुलाई घरबाट निकालेर कुटपिट गरेको वडा अध्यक्ष मनप्रसाद लिम्बुले जानकारी दिए । घटनाको बेला भने उनी घरमा थिएनन् । पहाडबाट विरामी आफन्त आएकोले आफु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गएको बेला नगरको डोजरले घर भत्काएपछि पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु, उनका दाजु लक्ष्मीको नेतृत्वमा आफ्नो घरमा गएर परिवारका सदस्यहरुलाई तान्दै निकालेर कुटेको वडाअध्यक्ष लिम्बुले बताए । 

‘म घरमा थिइन् । पुर्वअध्यक्ष र दाजुको नेतृत्वमा मेरो घरमा गएर सबैलाई तान्दै निकाल्दै कुटेको रहेछ,’उनले भने,‘मलाई नभेटेपछि वडामा त आउछ नि भन्दै म विरुद्ध नारा लगाएर हिडेछन् ।’ वडाअध्यक्ष लिम्बुका अनुसार आक्रमणबाट वडा कार्यालयमा सहयोगी कर्मचारी रहेका राजन राई, छोरा दिपेनलाई आक्रमण गरेका थिए । यस्तै, घरमा भएका सुनिल लिम्बु र नासोक लिम्बुलाई पनि महिलाहरुको समुहले कुटपिट गरेको थियो । वडाअध्यक्षका छोरा दिपेनको यही १८ गते विवाह भएकोले कार्ड वितरणको कुरा गर्न पुगेकाहरु निशानमा परेका हुन् । राजनको निधार र टाउकोमा चोट लागेको छ ।

man

उक्त घटना पछि जनप्रतिनिधिहरु नै त्रसित छन् । वडाअध्यक्ष मनप्रसाद लिम्बु घर जान सकेका छैनन् । वडाअध्यक्ष लिम्बुका छोरा दिपेन भन्छन्, 'राती खाएर घरमा आएर जे पनि गर्न सक्छ । यस्तो अवस्थामा कसरी घरमा बस्ने ?' 

पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनको समुहबाट वडा ५ का बासिन्दाहरु आतंकित भएपनि उनीहरुविरुद्ध बोल्ने आँट गर्दैनन् । गएको निर्वाचनमा कांग्रेसबाट वडाअध्यक्षमा पुनः उठेका उनी पराजित भएपछि अहिलेका जनप्रतिनिधिहरु उनको निशानामा छन् । निर्वाचनको केही दिन पछि नै खोला उत्खनन्को बिषयमा मिडियामा बोलेको भन्दै एमालेबाट निवार्चित वडा सदस्य प्रेम दाहालको घरमा आक्रमण भएको थियो । दाहाल धेरै दिन भागेर भुमिगत नै बस्नु परेको थियो भने एमाले र कांग्रेसका नेताहरुले घटना मिलाउन खोज्दा पनि मिल्नसकेको थिएन ।

पुर्व वडाअध्यक्षसहित १२ जनाविरुद्ध जाहेरी

असुरक्षित महशुस गरेका वडाअध्यक्ष मनप्रसाद लिम्बुले पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनको दाजु लक्ष्मी भनिने जीवन लिम्बुसहित १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरुको अगुवाईमा ४०, ५० जनाको समुह घरमा आएर गालीगलौज, नाराबाजी गरेको र आफुलाई नभेटेपछि परिवारका सदस्यहरुलाई कुटपिट गरेको निवेदनमा उल्लेख छ । 

यस्तै, आफुलाई ज्यान मार्ने धम्कीसमेत दिएकोले कुनै पनि समयमा घटना घटाउन सक्ने भएकोले पक्राउ गरि आवश्यक कारबाही गर्न र शान्ति सुरक्षा दिलाउन वडाअध्यक्ष लिम्बुले माग गरेका छन् । पुर्ववडाअध्यक्ष लिम्बु नेपाली कांग्रेसको धरान उपमहानगर कमिटीका उपसभापति पनि हुन् । 

पुर्वअध्यक्ष लिम्बुले भने आफुले कसैलाई पनि धाकधम्की नदिएको र कुटपिट पनि नगरेको बताए । उनले बिहान घर भत्काउदा वडाका जनप्रतिनिधिहरु नआएकोले आक्रोशित स्थानीय जनता गएको र झगडा भएको पनि बताए । ‘घर भत्काएपछि सबै गएर झगडा भयो भन्ने सुने । छोरीमान्छेलाई पनि मुख छाड्यो र कुटपिट भएको रहेछ । मैले घिसारेर कुट्यो भन्छन् रे, मैले किन त्यसो गर्नु ?’उनले भने,‘आजको घटनाले त म आफै त्रसित छुँ, हामी जनता त्रसित छौं । डोजरले घर भत्काइदिने हो कि भनेर ।’

डिएसपी बुद्ध श्रेष्ठले जाहेरी आइसकेको र अब मुद्दा दर्ता गरेर कानुनी प्रक्रियामा अघि बढ्ने बताए । राज्यले नियमपुर्वक गरेको काम (घर भत्काउने)मा चित्त नबुझे अदालतमा जाने बाटो हुदाहुदै व्यक्तिको घरमा गएर हातपात गर्ने, कुटपिट गर्ने काम गर्न कसैलाई पनि छुट नभएको डिएसपी श्रेष्ठले बताए । 

man1