धरान: धरान ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुको घरमा गएर आक्रमण तथा कुटपिट गर्ने पुर्ववडाअध्यक्षसहितका समुहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मी भन्ने जीवन लिम्बुसहित एक दर्जन विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीहरुविरुद्ध आइतबार वडाअध्यक्ष मनप्रसाद लिम्बुले जाहेरी दिएका थिए । आइतबार अधेरी खोला किनारमा अवैधरुपमा निर्माण गरेको घर उपमहानगरको डोजरले भत्काइदिएपछि आक्रोशित भिड वडाअध्यक्ष लिम्बुको घरमा गएर आक्रमण गरेको थियो ।

पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मीले उक्त भिडको नेतृत्व गरेको आरोप छ । वडाअध्यक्ष घरमा नभएको बेला ठुलो संख्यामा गएको समुहले घरभित्रबाट निकालेर वडाका सहयोगी कर्मचारी राजन राई, वडाअध्यक्षका छोरा दिपेनलगायतलाई कुटपिट गरेका थिए । साथै वडाअध्यक्षलाई पनि धम्की दिएपछि वडा ५ मा आतंक मच्चिएको थियो । उक्त घटनापछि वडाअध्यक्षले प्रहरीमा एक दर्जनविरुद्ध जाहेरी दिएका थिए । 

डिएसपी बुद्ध श्रेष्ठका अनुसार जाहेरीमा नाम उल्लेख भएका सबैविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आरोपित सबै फरार रहेको पनि डिएसपी श्रेष्ठले बताए । ‘जाहेरीमा भएका कोही पनि भेटिएको छैन, सबै फरार भइसकेका छन्,’उनले भने,‘घटनाको गम्भीरतापुर्वक अनुसन्धान र खोजी कार्य शुरु गरिसकेका छौं ।’