धरान: धरानको वडा नं ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुको घरमा आक्रमण तथा कुटपिट घटनामा २ जना पक्राउ परेका छन् । 

घटना पछि फरार रहेका मध्ये २ जना प्रहरीले मंगलबार पक्राउ गरेपनि उनीहरुको म्याद थप प्रक्रिया बाँकी रहेकोले नाम खुलाएको छैन । ईलाका प्रहरी स्रोतले भन्यो,‘२ जना पक्राउ गरेर ल्याइएको छ । भोली म्याद थप गरेर मात्र भन्न मिल्छ ।’ सार्वजनिक जग्गा अतिक्रमण गरि बनाउदै गरेको घर उपमहानगरको डोजरले भत्काएपछि एक समुहले वडाअध्यक्ष मनप्रसाद लिम्बुको घरमा गएर आक्रमण तथा कुटपिट गरेको थियो । 

उक्त घटना पछि वडाअध्यक्ष लिम्बुले शान्ति सुरक्षा र आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मी भन्ने जीवन लिम्बुसहित एक दर्जनविरुद्ध जाहेरी दिएका थिए । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपनि फरार भएका थिए । फरार मध्येकै २ जना समातिएको हो । अन्यलाई पनि पक्राउ गर्न प्रहरी सक्रिय बनेको छ । 

वडाअध्यक्षकै घरमा आक्रमण गरिएपछि अशान्त र त्रसित बनेको वडा नं ५ मा प्रहरीले सुरक्षा सर्तकता अपनाएको छ । पुर्ववडाअध्यक्ष लिम्बु र उनको दाजु लक्ष्मीको समुहबाट जनप्रतिनिधिहरु नै असुरक्षित बनेपछि प्रहरीले निगरानी बढाएको छ । वडाअध्यक्ष लिम्बु प्रहरीको निरन्तर निगरानीले सुरक्षा अनुभूति भएको बताए । उनले भने,‘म के चाहन्छुँ भने हाम्रो वडामा सबैजना शान्तिपुर्वक बस्न पाउ । सुरक्षितरुपले स्कुल, बजार जान सकौं । खुलेर बोल्न पाइयोस्, कार्यक्रम गर्न र सहभागि हुनसक्ने वातावरण बनोस् ।’

वडा ५ मा पुर्ववडाअध्यक्ष र उनको समुहको डर, त्रासले कोही पनि बोल्न सक्ने अवस्था नभएको वडाअध्यक्ष लिम्बु बताउँछन् । प्रहरी प्रशासन र मिडियाको नजर पनि नपुग्ने भएकोले वडा ५ मा सन्तोष लिम्बुको समुहले अराजकता मच्चाइरहेको र जनता त्रसित भएर बस्नुपर्ने पनि उनले बताए । ‘८३ बर्षको मेरो आमा घरमा हुनुहुन्थ्यो, घरभित्रै आक्रमण गर्न आउदा उहाँलाई के भयो होला ? तेरो बुढा निकाल भन्दै कोठा कोठा चहार्ने अधिकार उनीहरुलाई कहाँबाट मिल्यो ? परिवारलाई गालीगलौज गर्दै महिलाहरुलाई जगल्टाउदंै कुटपिट गर्न मिल्छ ?’उनले भने । 

फेरियो प्रहरी चौकीको इञ्चार्ज

वडा नं ५ स्थित देउरालीमा सईको नेतृत्वमा रहेको प्रहरी चौकी छ । आइतबार वडाअध्यक्षको घरमा नै आक्रमण भएपछि चौकी इञ्चार्ज पनि फेरिएको छ ।  इञ्चार्ज रहेका लक्ष्मी नारायण कुर्मीलाई इटहरी सरुवा गरिएको छ भने इटहरीबाट नै असई सुन्दर राईलाई चौकी इञ्चार्ज बनाएर पठाइएको छ ।

सई कुर्मीले पुर्ववडाअध्यक्ष लिम्बुसँगै मिलेको र शान्तिसुरक्षामा ध्यान नदिएको गुनासो स्थानीय वडाबासीले गर्दे आएका थिए । केही दिनअघि आँपटारमा भएको हत्या घटनाबारे समयमै स्थानीयले जानकारी दिएपनि प्रहरी ढिला गरि पुग्दा अर्को महिलामाथि आक्रमण गरि घाइते बनाएको थियो । हत्या भएको आधा घण्टापछि मात्र ती महिलालाई आक्रमण भएको थियो । तर प्रहरी भने पौने घण्टातिर मात्र पुगेका थिए । ‘हत्या भएको आधा घण्टा पछि मात्र महिला काटिएकी थिइन्, समयमै खबर भएपनि प्रहरी ढिला पुगेको थियो,’वडाअध्यक्ष लिम्बुले भने,‘शान्ति सुरक्षा र डिउटीमा ध्यान नदिएकोले असन्तुष्टी थियो ।’