धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा करिब ६ बर्षअघि इआरपिसी मेशिन खरिद गरेर सञ्चालनमा आएको थियो । यो अत्याधुनिक मेशिनले अप्रेशन नगरि नै पित्तनलीमा अड्केको ढुंगा निकालेर उपचार हुन्छ । 

सञ्चालनमा आएको यतिका बर्ष बितिसक्दा अहिले भर्खर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मेशिन खरिदबारे छानबिन थालेको छ । जब की यो मेशिन एक पटक बिग्रेर पुनः मर्मत भएर अहिले पनि सेवा दिइरहेको छ । बुधबार दिउँसो करिब अढाई बजेतिर इटहरीस्थित अख्तियार कार्यालयबाट टोली वीपी प्रतिष्ठान आएको थियो । उक्त टोलीले इआरसिपी मेशिनको आवश्यक जानकारी लिनुका साथै मेशिनको स्थलगत निरीक्षण पनि गरेका थिए ।  

रजिष्ट्रार डा.सुर्य संग्रौलाले अख्तियारको टोली केही बिषयमा स्थलगत निरीक्षणको लागी प्रतिष्ठान आएको पुष्टि गरे । तर आफु दिउँसो कार्यालयमा नभएको कारण के बिषयमा हो भन्ने जानकारी नभएको उनले बताए । रजिष्ट्रार संग्रौलाले भने, 'म कार्यालयमा थिइन । २ बजेपछि अख्तियारबाट आउदेछन् भन्ने जानकारी पाएको थिएँ । '

प्रतिष्ठान स्रोतका अनुुसार अख्तियारको टोलीले इआरसिपी मेशिनको स्थलगत निरीक्षणसँगै आवश्यक कागजात पनि मागेर लगेको छ । त्यसबाहेक विगत ५ बर्ष यताको आय व्ययको विवरण र विद्यार्थी भर्ना तथा शुल्कको पनि विवरण लिएर अख्तियार टोली गएको स्रोतले जनाएको छ । 

अख्तियारबाट आएका अनुसन्धान अधिकृतले पनि इआरपिसी मेशिनबारे पहिला नै उजुरी आएको र गहिरोरुपमा अध्ययन गर्ने क्रममा स्थलगतरुपमा नै बुझ्नुपर्ने भएर प्रतिष्ठान आएको बताए । अख्तियारका ती अधिकृतले भने,'पहिला नै उजुरी भएकोले छानबिन चलिरहेको थियो । थप केही कुरा बुझ्नुपर्ने भएकोले वीपीमा नै गएका थियौ । डकुमेन्टहरु पनि माग्नुपर्ने भएकोले गएको हो । '