धरान: कोशी राजमार्गको रानी विराटनगर, इटहरी धरान सडक आयोजना अन्तर्गतको ६ लेन सडक धरानको बजार क्षेत्र कति मापदण्डमा विस्तार हुन्छ भन्ने सर्बलाई चासो छ । 

आयोजनाले पटक पटक पत्राचार गरे क्लियरेन्स गरिदिन पनि आग्रह गरेकोले अब उपमहानगरपालिकाले ठोस निर्णय लिनुपर्ने अवस्था छ । केही दिनअघि उपमहानगरपालिका परिसरमा सरोकारवाला स्थानीय घरजग्गाधनीहरुसँग सर्वपक्षीय छलफलसमेत भएको थियो । स्थानीयले बाइपास गर्नुपर्ने र घरजग्गा रोक्का फुकुवा गर्नुपर्ने माग राखे पनि मेयर हर्क साम्पाङले भने उपमहानगरको धारणा के छ भन्ने खुलाएका थिएनन् । मदन भण्डारी राजमार्ग बाइपास गराउन आन्दोलन गरेका मेयर साम्पाङले ६ लेन सडक बजारबाटै सयौंको घर भत्काउदै विस्तार गराउछन् कि बाइपासको पक्षमा उभिन्छन् भन्ने पनि चासो छ । तर उनले यो बिषयमा आधिकारिकरुपमा बोलेका थिएनन् ।

हिजो आइतबार धरानको बाह्रौं नगरसभामा भने मेयर हर्क साम्पाङले ६ लेन सडक विस्तारबारे नबोली रहन पाएनन् । नगरसभा शुरु हुनुअघि नै ६ लेन सडकबाट प्रभावित बासिन्दाहरुले बाइपास गर्नुपर्ने भन्दै उपमहानगरपालिकाको गेट अघि विरोध कार्यक्रम गरेका थिए भने नगरसभामा अतिथिद्धय प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत र विजयकुमार राईले पनि ६ लेन सडकबारे आन्दोलन भइरहेको बिषय उठाएका थिए । शुन्य समयमा वडा नं १२ का सदस्य ब्रह्मज्ञ भट्टराईले पनि ६ लेन सडक बाइपास गर्नुउचित हुने धारणा राखेपछि जवाफ दिने क्रममा मेयर हर्क साम्पाङले पहिलो पटक यो सडकबारे आफ्नो भनाई राखे ।

मेयर साम्पाङ पनि ६ लेन सडक बाइपास गर्नुपर्ने पक्षमा देखिएका छन् । उनले सिंहदरबारले मात्र सबै निर्णय गर्न नसक्ने भन्दै स्थानीय सरकारले पनि आफ्नो आवश्यकता अनुसार रुपरेखा कोरेर अघि बढ्नसक्ने बताए । मेयर साम्पाङले ६ लेन सडकलाई ७२ फिटसम्मको बनाउनसक्ने बताए । साथै, ७२ फिट विस्तार गरेपछि बाहेकको घरजग्गा फुकुवा हुनुपर्ने र सबैले पहल गर्नुपर्ने पनि उनले बताए । सांसदहरुसँगै यो बिषयमा डेलिगेशन जानुपर्ने धारणा राख्दै उनले पहल गर्ने पनि बताए ।  

भिडियो: