धरान: धरानमा माघ २५ गतेदेखि जारी प्रदेश नं १ स्तरीय पाँचौं पुष्प प्रर्दशनी मेलाको आज अन्तिम दिन हो । 

पाँचौं सँस्करणको मेलामा यसपाली आयोजकले अपेक्षा गरेवमोजिम अवलोकन र कारोबार हुन सकेको छैन । चार दिनको मेला सकिदासम्म अवलोकन गर्न न्युन उपस्थिति छ भने कारोबार पनि विगतको मेलामा भन्दा कम भएको व्यवसायीहरुको भनाई छ । पुष्प मेलामा धरानका फूलका पारखीहरुको उपस्थिति कम भएपनि बाहिरका विभिन्न जिल्लाहरुबाट भने फूल खरीद गर्न मानिसहरु आइरहेको मेलाका संयोजक युमेनहाङ राईले जानकारी दिए । उनले भने,‘विगतमा भन्दा यसपाली कारोबार कम भइरहेको छ । मानिसहरु पनि थेरै छन् । तर, धरान बाहिरबाट मानिसहरु फुल किन्न आइरहेको छ ।’

ful4

उनका अनुसार ३ दिनसम्म कारोबार १० लाख नाघेको छ । पाँच दिने मेलामा ५० लाख बढीको कारोबार अपेक्षा गरिएको थियो । चौथो दिनको कारोबारको हिसाब आउन बाँकी रहेको र अन्तिम दिनमा धेरै कारोबार हुने अपेक्षा गरिएको उनले बताए । फुलका पारखीहरु भने बढेको उनको भनाई छ । 

यसपाली फुलको कारबार कम हुनुमा एक महिनाअघि मात्र पुष २० देखि २२ गतेसम्म आयोजना भएको धरान उत्सव पनि कारण रहेको फुल व्यवसायीहरुले बताएका छन् । धरान उत्सवमा पनि फुल व्यवसायीहरुले स्टल राखेका थिए । धरानका फुलका पारखीहरुले त्यसबेला नै फुल खरीद गरिसकेको कारण पनि पुष्प मेलामा कम कारोबार भएको व्यवसायी शिव वान्तवा राईले बताइन् । ‘धरानका धेरै जसो फुलका पारखीहरुले उत्सवमा नै खरीद गरिसक्नु भएकोले पनि यो मेलामा काम कारोबार भएको हो,’ उनले भनिन्,‘कोभिड महामारी र बराह ज्वेलर्सलगायतमा पैसा फसेकोले पनि मानिसहरुसँग पैसा भएन ।’

मेयर, उद्योग वाणिज्य संघ हेर्न पनि नआएको गुनासो

ful2

व्यवसायीहरुले धरानका मेयर हर्क साम्पाङ र अन्य जनप्रतिनिधिहरु धरानमै आयोजना भइरहेको पुष्प मेलाको अवलोकन गर्नसमेत नआएको भन्दै गुनासो व्यक्त गरेका छन् । यस्तै, सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरु पनि नआएको उनीहरुको भनाई छ । 

व्यवसायी शिव वान्ताव राईले उद्घाटन समारोहमा पनि प्रदेशका कृषि मन्त्री, मन्त्रालयका सचिव, प्रदेशका २ जना सांसदहरु आएको तर मेयर साम्पाङ नआएको बताइन् । उपमेयर अइन्द्रबिक्रम बेघा पनि कार्यक्रमको अन्तिम बेला मात्र सहभागी भएको उनले बताइन् । ‘नगर प्रमुख नै अवलोकन गर्न पनि आइदिनुभएको छैन । उद्घाटनमा वडा १४ र ८ को अध्यक्ष, एक जना कार्यपालिका सदस्य मात्र आइदिनुभयो, वडा १४ को अध्यक्ष पछि पनि एक पटक आउनु भयो । तर, अरु कोही पनि आइदिनुभएको छैन,’उनले भनिन्,‘उद्योग वाणिज्य संघको पनि कोही आएको छैन । आएर किन्नुपर्छ भन्ने होइन, अवलोकन गरिदिदा मात्र पनि हौसला मिल्छ ।’

भिडियो:

ful1

ful3

ful5