धरानः गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नै उम्मेद्वारलाई अन्तरघात र असहयोग गरि पराजित गराएको बिषयमा नेपाली कांग्रेसले छानबिन गर्न एक समिति गठन गरेको छ ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले छानविन समिति गठन गरेको हो । बैठकले निर्वाचन समिक्षा कार्यक्रमको प्रतिवेदन र स्थानीय पार्टी नेतृत्वहरुको राय अनुसार असहयोग र अन्तरघार गर्नेहरुमाथि कारबाही गर्न छानबिन समिति गठन भएको क्षेत्रीय सचिव एवं प्रवक्ता केशव पुरीले जानकारी दिए । निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग र अन्तरघात गर्नेहरुमाथि अनुशासनको कारवाही अघि बढाउन समिति गठन भएको उनले बताए ।
क्षेत्रीय उपसभापति एवम् प्रदेशसभा १(१) का सभापति अनिल श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिमा क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, प्रदेशसभा १(१) सचिव युवराज शंकर, प्रदेशसभा १(२) सचिव विजय घिमिरे, धरान नगर सचिव जितेन्द्र राई, बराहक्षेत्र नगर सचिव हरिकृष्ण भट्टराई, रामधुनी नगर सहसचिव सरल कटवाल सदस्य र क्षेत्रीय सहसचिव सुमित राई सदस्य सचिव रहेका छन् ।
बैठकमा प्रदेश नं. १ का सांसद एवम् महासमिति सदस्य ममता तामाङ, सुनसरी जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, जिल्ला सदस्यहरु प्रदिप बस्नेत, अनुपमा सुनुवार लगायतको पनि उपस्थिति रहेको थियो ।