धरान: सप्तकोशीको पानी ल्याएर काकाकुल धरानबासीको प्यास मेट्ने एजेण्डा लिएर मेयरमा निवार्चित हर्क साम्पाङ आज बिहानै कन्सल्टेन्टको इञ्जिनियरसहित बराहक्षेत्र १ अर्चले पुगे । 

कोशीको पानी धरान ल्याउन डिपिआरको लागी अध्ययन भइरहेको छ । सोही अध्ययनको क्रममा ट्यांकी निर्माण गर्ने ठाउँ हेर्न ईञ्जिनियर राजेश महर्जनसहित मेयर साम्पाङ अर्चले पुगेका हुन् । यसअघि पनि मेयर साम्पाङ बराहक्षेत्र नगरपालिका वडा नं १ का वडाअध्यक्ष किसन थापासहित अर्चले पुगेर उक्त ठाउँ अवलोकन गरेका थिए । आज ईञ्जिनियर महर्जनसहित पुगेर अवलोकन गरेपछि सोही ठाउँमा ट्यांकी बनाइने भएको छ । उक्त स्थानमा करिब १० लाख लिटर क्षमताको बन्ने ट्यांकी बन्ने र कोशीको पानी लिफ्ट गरेर जम्मा गरिनेछ । त्यहाँबाट भने ग्राभेटीमै पानी धरान आउनेछ ।

suryakund-archale

ईञ्जिनियर महर्जनका अनुसार धरान २०, ४ र ५ वडालाई पनि कोशीको पानी वितरण हुने गरि डिजाइन गरिएको छ । पाइपलाइनको डिजाइन पनि भइसकेको उनले बताए । अर्चलेमा बन्ने ट्यांकीले फुस्रेसम्म नै पानी पुग्ने पनि उनले बताए । मेयर साम्पाङले धरानको सबै वडामा कोशीको पानी वितरण हुने गरि डिजाइन भइरहेकोमा खुशी व्यक्त गरे । ‘मेरो एकमात्र ध्यान कोशीको पानी धरान पुर्याउने हो । जतिसक्दो छिटो डिपिआरको काम सक्नुपर्यो,’उनले भने ।