धरान: धरान १६ स्थित रंगशालामा जारी धरान एक्स्पोमा आज चर्चित गायिका आस्था राउतले साङ्गीतिक प्रस्तुति दिने भएकी छिन् । 

साँझ ६ बजे पछि गायिका राउतको प्रस्तुती सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् । गायिका राउतको ‘माया यो माया’, ‘वारी सिकारी पारी सिकारी’, ‘चौबन्दीमा पटुकी’ लगायतका गीत चर्चित छन् । फागुन ११ बाट सुरु भएको एक्स्पोमा हिजो साँझ राजेशपायल राईको प्रस्तुती रहेको थियो । एक्स्पोमा पहिलो दिन समिर श्रेष्ठ र दोस्रो दिन छेवाङ लामाले पनि प्रस्तुती दिइसकेका छन् । संयोजक श्रेष्ठका अनुसार गायिका राउतबाहेक स्थानिय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्नेछन् । 

फागुन २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा दिउँसो तीन बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । दिउँसो तीनदेखि पाँच बजेसम्म भने टिकट दर ५० रुपैयाँ राखिएको छ । एक्स्पोमा साँझ पाँच बजेपछि भने राष्ट्रियस्तरका कलाकारहरु आउने भएकोले उक्त कन्सर्ट हेर्न २ सय रुपैयाँ प्रवेश शुल्क लिइने पनि संयोजक श्रेष्ठले बताए ।