धरान: कोशी प्रदेशको नामकरणको विरुद्ध आन्दोलन थप चर्कने र प्रदेश अशान्त हुने संकेत देखिएको छ । 

कोशी नाम खारेजीको माग लिएर चैत ५ गते विराटनगर केन्द्रीत आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइतेको निधन पछि पहिचान पक्षधरहरुले आन्दोलन थप सशक्त बनाउने तयारीमा छन् । प्रदेश नं १ पुनः नामंकन संयुक्त संघर्ष समितिले शनिबार एक घण्टा चक्काजामको घोषणा गरेको छ । शनिबार दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशका १४ वटै जिल्लामा चक्काजाम हुने जनता समाजवादी पार्टीका धरान अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए । 

चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय र प्रदेशसभा घेराउ आन्दोलनको क्रममा सशस्त्र प्रहरीले लाठीचार्ज गर्दा लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर पदम लिम्बु (लाजेहाङ) गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा शुक्रबार बिहान अढाई बजे निधन भएको थियो ।

limbuwan1

उनको निधनपछि पहिचान पक्षधरहरु आक्रोशित छन् भने प्रदेश अशान्त बनेको छ । मृतक लिम्बुलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग पहिचान पक्षधरहरुले अघि सारेका छन् । कोशी प्रदेश नाम खारेज हुनुपर्ने अडान कायमै छ भने आफ्ना माग पुरा नभएसम्म मृतकको शव जिम्मा नलिने पनि आन्दोलनरत पक्ष र परिवारजनले जनाएका छन् । मृतकको शव वीपी प्रतिष्ठानको शवगृहमा राखिएको छ ।

आन्दोलनरत पक्षले विगतमा नै प्रदेशसभाका सदस्यहरुलाई बहिष्कार गर्ने, गाउँपालिका र वडाहरुमा तालाबन्दी गर्ने, कालोझण्डा गाड्नेलगायत आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ । शुक्रबार साँझ पनि प्रदेशका १४ वटा जिल्लाका प्रमुख सहरहरु र काठमाण्डौंमा पनि विरोधसभा भएको थियो । वक्ताहरुले कोशी प्रदेश नाम खारेज नभए, मृतकलाई सहिद घोषणा नगरे पहिचनको आन्दोलनले जस्तोसुकै रुप लिनसक्ने चेतावनी दिएका थिए । 

भिडियो: