धरान: धरानको १० नम्बर वडा कार्यालयमा कोशी प्रदेश लेखिएको एलइडी बोर्ड तोडफोड भएको छ ।
पहिचान पक्षधरहरुको पुर्वघोषित कार्याक्रम अनुसार वडा कार्यालय बन्द गराउने र कोशी लेखिएको बोर्ड, ब्यानर, लेटरप्याड तथा स्टाम्प जफत गर्ने, च्यात्ने, जलाउने आन्दोलनको कार्यक्रम अन्तर्गत बिहिबार धरानमा पालिका तथा वडा कार्यालयहरु बन्द गराइएको थियो । सोही क्रममा आन्दोलनकारीहरु दिउँसो वडा नं १० को कार्यालय पुगेका थिए ।
आन्दोलनकारीहरुले पहिला नै समन्वय गरेको कारण जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय बन्द गरिसकेका थिए । तर, कार्यालयको एलइडी बोर्डमा कोशी प्रदेश लेखिएको देखिएपछि आन्दोलनकारीहरुले बोर्डमा ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट बोर्डमा क्षति पुगेको छ भने कार्यालयको झ्यालको शिशा पनि फुटेको छ ।
प्रदेश नं १ पुनःनामकरण संघर्ष समितिमा रहेको जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले कोशी लेखिएको बोर्ड हटाउने, फाल्ने पुर्वघोषित कार्यक्रम नै रहेको बताए । त्यसक्रममा वडा १० मा बोर्डमा कोशी प्रदेश लेखेको देखिएपछि बोर्डमा आन्दोलनरत पक्षबाट ढुंगा प्रहार हुँदा फोडिएको उनले बताए ।
शुक्रबार पनि तालाबन्दी जारी राख्ने
आन्दोलनरत पहिचानवादी संघसंगठनहरुले भोली (शुक्रबार) पनि पालिका तथा वडा कार्यालयहरुमा तालाबन्दी जारी नै राख्ने भएको छ। आन्दोलनको पुर्वघोषित कार्याक्रम अनुसार १७ गतेसम्म कोशी प्रदेशका पालिका र वडा कार्यालयहरु बन्द गरिने जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए । उनले भने,‘शुक्रबार पनि तालाबन्दी नै रहन्छ ।’