धरान: मेयर हर्क साम्पाङले बैठकमा नआउने वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको राजिनामा मागे लगत्तै बिहिबार वडाअध्यक्षहरुले पनि पत्रकार सम्मेलन गरेका छन् ।

धरान १५ स्थित होटल सेछमा आयोजित पत्रकार सम्मेलनमा वडाअध्यक्षहरुले मेयर साम्पाङले नगरको नेतृत्व गर्न नसकेकोले असफल भएको दाबी गरे । उनीहरुले मेयर साम्पाङले वडाअध्यक्षहरुको राजिनामा माग गर्नुको कुनै औचित्य र आधार नभएको पनि बताए । तर, मेयर साम्पाङले राजिनामा दिएमा भने आफुले पनि वडाअध्यक्षबाट राजिनामा दिएर मेयरको उपचुनाव लड्ने घोषणा वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले गरेका छन् । यस्तै, वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) ले पनि मेयर साम्पाङलाई वडामा अध्यक्षमा उठेर चुनाव जितेर देखाउन चुनौती दिएका छन् । 

मेयर साम्पाङ माथि आरोपको चाङ

वडाअध्यक्षहरुले मेयर साम्पाङले विधि, प्रक्रिया र कानुन मिचेर आफुखुशी एक्लै हिडिरहेको आरोप पनि लगाए । सामाजिक सञ्जालमा पदीय मर्यादा भुलेर जे मन लाग्यो त्यही लेख्ने, समाज भाड्ने र उत्तेजित बनाउने गरेको पनि उनीहरुले मेयर साम्पाङमाथि आरोप लगाए । यस्तै, कार्यपालिका बैठकले नै निर्णय गरेर देशविदेशबाट आउने सहयोग रकमको लागी कोष स्थापना गर्ने निर्णय गरेपनि अहिले कोकाहा खानेपानी प्रोजेक्टको लागि आफुखुशी रकम उठाइरहेको र त्यो रकमको हिसाब, किताब नगर वा खानेपानी बोर्डमा नरहेको पनि आरोप लगाएका छन् । 

मेयर साम्पाङले श्रमदानप्रति जनतालाई सचेत गराएकोमा भने प्रशंसा गरेपनि वडाअध्यक्षहरुले काम भन्दा बढी प्रचारमुखी भएको आरोप लगाए । युट्युबर र अन्धसमर्थकहरुले मेयर साम्पाङको देवत्वकरण गरेको भन्दै वडाअध्यक्षहरुले गालीको बर्षा हुने भएकोले कसैले पनि प्रश्न गर्ने वा सत्य कुरा बोल्ने आँट गर्न नसकिरहेको पनि बताए । अहिले धरानमा खानेपानीको चरम अभाव भइरहे पनि गालीगलौज आउने भएकोले कसैले पनि सामाजिक सञ्जालमा गुनासो गर्न समेत नसकेको उनीहरुले बताएका छन् । 

भिडियो:

धरानमा धेरै समस्या भएपनि मेयर साम्पाङ खानेपानीमा मात्र केन्द्रीत भएकोले अन्य क्षेत्र ओझेलमा परेको वडाअध्यक्षहरुको भनाई थियो । उनीहरुले मेयर साम्पाङले पानी खुवाउने चुनावी एजेण्डा बनाए पनि श्रमदान गरेर वा जनताबाट पैसा उठाएर पानी खुवाउने नभनेको पनि बताए । मेयर साम्पाङले वडाअध्यक्षहरुलाई वदनाम हुने गरि अमर्यादित र अपशब्दहरु बोल्ने, लेख्ने गरेकोमा पनि उनीहरुले आपत्ति जनाएका छन् ।

बैठकमा आउने वातावरण मेयर साम्पाङले तयार नगरेको भन्दै वडाअध्यक्षहरुले बताए । एमाले, कांग्रेस र माओवादीका संसदीय दलका नेताहरुसँग छलफल गर्दा गल्ती भएको स्वीकार गर्ने र समन्वय गरेर बैठक बोलाउने भनेपनि मेयरले पछि समन्वय नै नगरेको उनीहरुको भनाई थियो । मेयर साम्पाङसमक्ष ५ बुँदे माग राखिसकेको भन्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले अब वार कि पारको लडाईमा रहेको पनि बताए । 

भिरबाट गाडी खस्यो, चालक निकालिए

वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले कोकाहा खानेपानी आयोजनाको श्रमदानको क्रममा खानेपानी व्यवस्थापन बोर्डको एउटा पिकअप गाडी भीरबाट खसेको तर त्यसलाई गुपचुप पारिएको पनि बताएका छन् । यो घटना मिडियामा पनि नआएको भन्दै उनीहरुले सत्यतथ्य घटनाहरु सार्वजनिक गर्न पनि पत्रकारहरुलाई आग्रह गरेका छन् ।

वडाअध्यक्षहरुले घटना भएको (चैत २३) भोलीपल्ट मात्र इन्स्युरेन्स गरेको भन्दै जाली काम पनि भएको दाबी गरेका छन् । साथै, यो घटना सार्वजनिक नगर्न दबाब दिएको र फर्जी काम गरिसकेपछि भने चालक तेजबहादुर राईलाई कामबाट निकालेको पनि वडाअध्यक्षहरुले बताए । चालक राईले पनि आफुले जानेर गाडी भिरबाट नखसाएको भन्दै विना गल्ती नै स्पष्टीकरणसमेत नसोधी कामबाट हटाएको गुनासो पोखे । साथै उनले आफुलाई निकाल्नुको कारण सोध्न मेयर साम्पाङलाई कार्यकक्षमा भेट गर्न जादा नगर प्रहरी लगाएर निकालेको पनि गुनासो गरे । आफु अन्यायमा परेको भन्दै उनले न्याय दिलाइदिन समेत गुहारेका छन् ।

वडा ४ का अध्यक्ष कड्किए

wada adkx1

शुभकामना आदानप्रदान गरेर बोलाएको कार्यक्रम मेयर साम्पाङ विरुद्धको पत्रकार सम्मेलन भएको भन्दै वडा नं ४ का अध्यक्ष धनबहादुर राई भने अन्य वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुसँग नै आक्रोशित भएका थिए । 

उनले मेयर साम्पाङको राम्रो कामको सपोर्ट पनि गर्न आग्रह विरोध मात्र गरेको भन्दै आक्रोश पोखेका थिए । आफ्ना असन्तुष्टी तथा मागहरु कार्यपालिका बैठकमा नै राख्न आग्रह गर्दे उनले कार्यपालिका बैठक नबस्दा आफ्नो वडाका. ७९ लाख रुपैया बजेट फ्रिज हुने अवस्था भएको पनि बताए । मेयरले गाडी चालकलाई निकाल्नु गल्ती भएको भन्दै गलत गरेको भए गलत भन्नुपर्ने तर राम्रो कामको पनि समर्थन गर्नुपर्ने बताए । मेयरले ल्याएको पानी उनको समर्थकले मात्र नपिउने भन्दै वडा ४ का अध्यक्ष राईले खानेपानी अभियानमा साथ दिनुपर्नेमा जोडदिएका थिए । 

भिडियो: