धरान ः मेयर हर्क साम्पाङले कार्यपालिका बैठकमा आउन वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई आह्वान गरेका छन् । 

बिहिबार कार्यकक्षमा पत्रकार सम्मेलन गर्दे मेयर साम्पाङले कार्यपालिका बैठकमा आउनु कर्तव्य भएको उल्लेख गर्दै कर्तव्य पुरा गर्न बैठकमा आउन आह्वान गरेका हुन् । कार्यपालिका बैठक कसैको अधिकार, रहर या चाहनाको कुरा नभै बाध्यकारी कर्तब्य रहेको पनि मेयर साम्पाङले बताए । उनले कसैले पनि म बैठकमा बस्दिन भन्न नपाउने जिकिर गर्दै कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने सबैले नैतिकताको आधारमा राजिनामा दिएर बाटो प्रशस्त गर्न अनुरोध गरेका छन् ।

मेयर साम्पाङ र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको विवादको कारण कार्यपालिका बैठक बस्न सकेको छैन । मेयर साम्पाङका स्वकिय सचिवले वडाअध्यक्षहरुलाई वडामा सम्पन्न भएको योजना तथा कार्यक्रमहरुको सुची पठाइदिन पत्राचार गरेपछि विवाद शुरु भएको थियो । चैत १ गते बोलाइएको कार्यपालिका बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि वडाअध्यक्षहरुले स्वकिय सचिवको योग्यताबारे प्रश्न उठाउदै विधि र प्रक्रिया विपरीत पत्र पठाएको भन्दै माफी माग्न र कारबाही गर्न माग गरेका थिए । उक्त विवादले बैठक अघि बढ्न नसकेपछि मेयर साम्पाङले बैठक स्थगित गरेका थिए । 

मेयरले बैठक स्थगित गरेपछि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले ५ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका थिए । उनीहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका थिए भने मेयरविरुद्ध राजनीतिक दलहरुको सभा पनि आयोजना भएको थियो । मेयर साम्पाङले सोमबार र मंगलबार कार्यपालिका बैठक बोलाएपनि वडाअध्यक्षहरु उपस्थित भएनन् । 

भिडियो: