धरान: धरानका राजनीतिक दलका नेताहरुले वडाअध्यक्ष र मेयर हर्क साम्पाङबीच देखिएको विवाद समाधान होस् भन्ने पक्षमा रहेको प्रतिक्रिया दिएका छन् ।

विकासका योजनाहरु लिएर संघीय राजधानी काठमाण्डौं प्रस्थान गर्नुअघि पत्रकारहरुसँग कुरा गर्दै नेताहरुले अभिभावक भएकोले विवाद समाधानको लागि सकरात्मक पहल मेयरबाट नै हुनुपर्ने पनि बताएका छन् । नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले कार्यपालिका बैठक अवरुद्ध भएपछि राजनीतिक दलका नेतृत्वहरुले मेयरसँग सकरात्मक छलफल गरेको र मेयर साम्पाङले बैठक बोलाउनुअघि संसदीय दलका नेताहरुलाई बोलाएर एजेण्डाबारे छलफल गर्ने आश्वासन दिएपछि पुरा नगर्दा समस्या भएको बताए । 

‘मेयरसँग हामी छलफलमा बस्यौं । पानी ल्याउन हुदैन भनेर हामीले भनेकै छैनौं । ल्यानुस् तर राजनीतिक दललाई किन चलाउनुहुन्छ ? तपाई आफ्नो काम गर्नुस्, हामी आफ्नो गछौं भनेर प्रष्टै भन्यौं,’उनले भने,‘मेयरले पनि राम्रो कुरा गर्नुभयो । तर, बोलेको कुरा पुरा गर्नुभएन । बैठक राख्ने भएपछि संसदीय दलका नेताहरुसँग के छ एजेण्डा ल्याएर आउनुस् भन्दा समस्या नै नहुने हो । त्यसो नगर्दा समस्या भएको हो । मेयर अभिभावक हो, छोराछोरीले कराउदा, चिच्याउदा बोलाएर यसो नगर है भन्दा हुने हो । जति भेटघाट, छलफल हुन्छ, त्यति सहज हुन्छ । पहलकदमी उहाँले नै गर्नुपर्छ ।’

उनले राजनीतिक दलहरु द्धन्द गरेर जाने पक्षमा नभएको पनि बताए । पोख्रेलले भने,‘दलहरु सकरात्मक नै छौं । द्धन्द गरेर जाने होइन, समाधान गरेर जाने हो । उहाँ पनि सकरात्मक भएर आउनुभयो भने यो समस्याको समाधान एक मिनेटमा नै हुन्छ ।’ एमाले अध्यक्ष हर्कजंग एभेङले पनि मेयर साम्पाङले बोलाएपछि गएको र सकरात्मक छलफल भएको बताए । तर, छलफल पनि भने आश्वासन दिएअनुसार मेयर साम्पाङले कार्यपालिका बैठक बोलाउनुअघि संसदीय दलका नेताहरुलाई छलफलमा नबोलाएकोले समस्या भएको उनले पनि जिकिर गरे । ‘उहाँसँग भेट हुदा मिठो गफ गर्नुहुन्छ, त्यहाँबाट निस्केपछि दलमाथि खनिनुहुन्छ, गालीगलौज गर्नुहुन्छ । त्यो काम बन्द गरेर सबैलाई समेटेर जादा समग्र धरानको विकास गर्न सकिन्छ ।’