धरान: कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै पहिचान पक्षधरहरुले आइतबार इटहरीमा विरोध प्रर्दशन गरेको छ ।
प्रदेश नं १ पुनः नामंकन संयुक्त संघर्ष समितिको आयोजनामा इटहरी मुख्य बजार क्षेत्रमा प्रर्दशन तथा कोणसभा भएको हो । इटहरीको चौरास्त चोकमा प्रदर्शन हुँदा दुई घण्टा बढी सडक ठप्प भएको थियो भने यातायातका साधनहरु वैकल्पिक मार्गबाट सञ्चालन गरिएको थियो ।
कोणसभालाई चर्चित लेखक खगेन्द्र संग्रौलाले सम्बोधन गरेका थिए । उनले आदिबासी जनजाति सांसदहरु नै पहिचान विरोधी दलहरुको गोटी भएको कारण पहिचानको आधारमा प्रदेशनको नाम रहने सम्भावना नदेखिएको बताए । पहिचान पक्षधरले एमाले, कांग्रेस, माओवादीलाई नै भोट हालेर जिताइरहने भए पहिचानको एजेण्डा बोक्नुको कुनै औचित्य नभएको उनले बताए । साथै उनले पहिचानवादीहरुबीच पनि समझदारी कायम राख्न सुझाव दिए ।
अर्का नेता, गोविन्द छत्यालले कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने बताए । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले पहिचानको आन्दोलनलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोडदिए । गत चैत ५ गतेको विरोध प्रर्दशनको क्रममा विराटनगरमा पदम लिम्बु (लाजेहाङ) घाइते भएका थिए । उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा चैत १० गते निधन भएको थियो । आन्दोलन चर्किएपछि सरकारले लाजेहाङलाई सहिद घोषणा गरेको थियो । उनको शव हिजो (बैशाख ९) गते मात्र अन्येष्टी गरिएको थियो ।