धरान: आगामी आर्थिक बर्षको लागि विभिन्न योजनाहरुलाई बजेट माग गर्न राजधानी गएको धरानका राजनैतिक दलका प्रतिनिधिहरुले अर्थमन्त्रीसँग भेट गरेका छन् । 

सोमबार अर्थमन्त्री डा.प्रकाश शरण महतसँग भेट गर्दै दलका प्रतिनिधिहरुले धरानको प्रमुख समस्या खानेपानीको लागि ‘बहुुउद्देश्यीय आयोजना’ पेश गर्दै आवश्यक बजेट माग गरेका छन् । दलका प्रतिनिधिहरुले धरान तमोर सुरुङ मार्गलाई ‘बहुउद्देश्यीय आयोजना’ को रुपमा पेश गर्दै बजेट माग गरेका हुन् । नेपाली कांग्रेसका नेता एवं पुर्वनगर प्रमुख तिलक राईले अहिले धरानमा भइरहेको काम सस्तो लोकप्रियताको लागि मात्र भइरहेको भन्दै दीर्घकालिन समाधानको लागि सुरुङ मार्गलाई बहुउद्देश्यीय आयोजनाकोरुपमा किवास गर्नुपर्नेमा जोडदिए । उनले भने,‘धरानको खानेपानी दिर्घकालिन रुपमा समाधान गर्न अहिले अध्ययन भईरहेको धरान लेउती सुरुङमार्गलाई बहुुउद्देश्यीय आयोजनाको रुपमा विकास गर्न आवश्यक छ ।’

राजनीतिक दलहरुले यो बहुउद्देश्यीय योजनाबाट यातायात, खानेपानी, सिचाई र जल पर्यटन पनि विकास गर्न सकिने बताएका छन् । दलका प्रतिनिधिहरुसँग कुरा गर्दै अर्थमन्त्री डा महतले धरानको समस्यालाई आफुुले गहिरोसँग बुझेको प्रतिक्रिया दिए । उनले बहुउद्देश्यीय योजनालाई सकरात्मकरुपमा लिएको बताउदै योजनाको लागि वैदेशिक लगानी ल्याउन आफै पनि लागि पर्ने बताए । साथै उनले धरानका लागि राजनैतिक दलहरुले संयुक्तरुपमा ल्याएको योजनाहरुलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाए । खानेपानी बाहेकका अन्य योजनामा प्राथमिकता हेरेर बजेट विनियोजन गर्ने उनको भनाई थियो । 

अर्थमन्त्री महतसँगको भेटमा नेकपा एमालेका नेताहरु मीन सुुब्बा, नारायण प्रसाद सुुबेदी, एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेसका नेताहरु तिलक राई, उमेश थापा, प्रदेश संसद ममता तामाङ, काग्रेस नगर सभापति श्याम पोख्रेल, माओबादी केन्द्रका नेताहरु मुुक्सामहाङ मेन्याङबो, नगर इन्चार्ज चोत्लुुङ, माओबादी केन्द्रका नगर अध्यक्ष तथा वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराई, धरान १६ का वडाध्यक्ष मुुरारी भट्टराई, धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान ११ का वडाध्यक्ष लोकेन्द्र कुुमार फागो, धरान २० का वडाध्यक्ष पदमबहादुर लिम्बुु पनि रहेका थिए ।